सबै जिल्लाको तापक्रम उच्च सतर्कताको तहभन्दा माथि

नेपालको पूर्वदेखि पश्चिम तराईको भूभागमा तापक्रम उच्च बन्दा जनजीवन प्रभावित

जनसम्मत
जेठ २६, २०८०, शुक्रबार

मनसुन भित्रिन ढिला हुँदा तराईमा तातो हावा अर्थात् ‘लु’ चल्ने क्रम थप उच्च बनेको छ।

नेपालको पूर्वदेखि पश्चिम तराईको भूभागमा तापक्रम उच्च बन्दा जनजीवन प्रभावित भएको छ।

जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाले पश्चिमका २ र पूर्वका ३ जिल्लाबाहेक सबै जिल्लाको तापक्रमले उच्च सतर्कताको तह पार गरेको जनाएको छ।
ती जिल्लामा ४१ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको छ।

५ जिल्लामा तापक्रमको सतर्कता तहको अवस्थामा रहेको छ। सबैभन्दा बढी जनकपुर, विराटनगर, भैरहवा, सिमरा र नेपालगन्जमा तापक्रम वृद्धि भएको देखिएको छ। यसैबीच बंगालको खाडीबाट मनसुनी न्यूनचापीय रेखा हिजो भारतको केरलामा आइपुगेको छ।

त्यहाँबाट मनसुनी जलवाष्प नेपाल आउन करिब एक साता लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। नेपालमा यो वर्ष मनसुन भित्रिने अनुमानित दिन भनेर जुन १३ लाई तोकिएको छ। अहिलेकै अवस्थालाई गणना गर्ने हो भने मनसुन सुरु हु्न करिब एक साता वा त्यसभन्दा बढी समय लाग्ने संभावना देखिएको छ।

२ दिन पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशका पहाडी भेगमा हल्का खण्डवृष्टि हुने संभावना भने छ। पूर्वतर्फ केही बादल बनेको छ भने पश्चिम पहाडी इलाकामा पनि बादल बन्ने क्रम जारी छ। धेरै ठूलो वर्षा नहुने भएकाले तापक्रम तत्काल घट्ने संभावना भने कम रहेको मौसमविद्हरुको दाबी छ।