विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गरिदैँ

जनसम्मत
जेठ २६, २०८०, शुक्रबार

निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गर्न व्यवस्था मिलाउन लागिएको जनाएको छ।

आज (शुक्रबार) आयोगले आह्वान गरेको सर्वदलीय बैठकमा विभिन्न ५ विषयमाथि छलफल भएको छ।

बैठकमा राजनीतिक दलसँग आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन प्रारम्भ गर्ने विषयमा पनि छलफल भएको जनाएको छ।

पूर्वसूचना दिएर विदेशमा रहेका नेपाली नागरिकले अनलाइनमार्फत नेपालमा आफ्नो स्थायी ठेगानामा मतदाता नामावली कायम हुनेगरी प्रि–रजिस्ट्रेसनसम्बन्धी संपूर्ण कार्य गर्ने, सम्बन्धित देशको कूटनीतिक नियोगमा व्यक्ति स्वयं उपस्थित भई फोटो र औठाछाप दिने, नेपाल सरकारले विदेशबाट मतदाता नामावली संकलन गर्नका लागि सैद्धान्तिक सहमति दिने, आवश्यक स्रोत साधन उपलब्ध गराउने र कूटनीतिक पहल गरिदिने विषयमा छलफल भएको छ।

त्यस्तै, आयोगले परराष्ट्र मन्त्रालयसँग समन्वय गरी सम्बन्धित देशको कूटनीतिक नियोगका अधिकृतस्तरका कर्मचारीलाई नाम दर्ता अधिकारी र सहायकस्तरका कर्मचारीलाई दर्ता कर्मचारी तोक्न आवश्यक व्यवस्था मिलाउने, संकलन नागरिकता साथमा नभएमा राहदानीलाई परिचयपत्रको रुपमा लिई फोटो र औठाछाप दिन मिल्ने व्यवस्था मिलाउने, दर्ता किटको व्यवस्थापन, मतदाता नामावली दर्तासम्बनधी तालिम संचालन गर्ने, दर्ता भएका मतदाताको विवरणलाई आयोगको सर्भरमा ल्याई एकीकृत गर्नका लागि सेक्युर कनेक्टिभिटी लगायतका प्राविधिक कार्य गर्ने विषयमा छलफल भएको आयोगले जनाएको छ।

यसैगरी, आयोगका पदाधिकारीहरुले राजनीतिक दलका पदाधिकारीहरुसँग आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको अनुसूचीमार्फत जिल्ला निर्वाचन कार्यालयको विषयमा गरिएको व्यवस्था, निर्वाचन व्यवस्थापन सम्बन्धी विधेयक नेपाल सरकारमार्फत संसदमा पेश गर्ने, स्थानीय तहमार्फत मतदाता नामावली संकलन प्रारम्भ गर्ने र राजनीतिक दलको लेखा र लेखा परीक्षणमाथि पनि छलफल गरेको छ।