स्याङ्जाको विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द

जनसम्मत
जेठ २६, २०८०, शुक्रबार

स्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ।

सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरिएको छ। बालबालिकाको शरीरमा एकै प्रकारका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएको छ।

विश्व स्वास्थ्य सङ्गठन, गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य कार्यालय स्याङ्जा र गह्रौँ प्राथमिक अस्पताल वालिङबाट चिकित्सकको टोली पुगेर औषधि उपचार गरेको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए।

पहिलो पटक परीक्षण गर्दा २३ जनामा देखिएको सङ्क्रमण दर बढ्दै गएपछि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनका प्रतिनिधि कोखे पुगेर नमूना संकलन गरेका हुन्।