आर्मीका रामजीले जिते लेखनाथ हाफ म्याराथनको उपाधि

जनसम्मत
जेठ २८, २०८०, आइतबार

नेपाल आर्मीका रामजी बस्नेतले लेखनाथ हाफ म्याराथनकोे उपाधि जितेका छन्।

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा म्याराथन भएको हो।

शनिबार लेखनाथस्थित भण्डारढिक खेल मैदानबाट भएको दौड प्रतियोगितामा निर्धारित २१ किलोमिटर दूरी १ घन्टा १३ मिनेटमा पार गर्दै रामजीले उपाधि जितेका हुन्।

प्रतियोगिताको पुरुषतर्फ राष्ट्रिय खुला २१ किमी अन्तर्गत नेपाल आर्मीकै मोहनदेव जिसी दोस्रो बने। उनले उक्त दूरी १ घन्टा १४ मिनेटमा पार गरे।

अनिश गुरुङले १ घन्टा १८ मिनेटमा सो दूरी पार गर्दै तेस्रो बने। म्याराथनमा प्रथम हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार नगद, मेडल र प्रमाण पत्र पुरस्कार पाए।

३ समूहअन्तर्गत महिलातर्फ राष्ट्रिय खुला १० कि.मि. दौडमा नारायणी भण्डारी पहिलो बनिन्। उनले २४ मिनेट ५० सेकेन्डमा निर्धारित दूरी पार गर्दै प्रथम बनिन्। मेनुका अधिकारी दोस्रो र एन्जल अधिकारी तेस्रो भए। १० कि.मि.को दौड प्रतियोगिता जितेकी नारायणीले ३० हजार, दोस्रो बनेकी मेनुकाले २० हजार र तेस्रो बनेकी एन्जलले १० हजार नगद, मेडल र प्रमाणपत्र पुरस्कार जिते।

विद्यालयतर्फ छात्र/छात्राको ५ किमीको सडक दौडमा टेन्जन रोक्काले पहिलो, विवेक परियारले दोस्रो, सनिल विकले तेस्रो, सागर निश्वारले चौथो र किशोर रानाले पाँचौ पुरस्कार जिते। विद्यालय छात्र/छात्रा ५ किमी तर्फको दौडमा प्रथम हुने टेन्जनले १५ हजार, दोस्रो बनेका विवेकले १० हजार, तेस्रो बनेका सनिलले ५ हजार, चौथो बनेका सागरले १ हजार र पाँचौ बनेका किशोरले ५ सय पुरस्कार जिते।

प्रतियोगितामा करिव ५ सय जना धावकको सहभागिता थियो।

पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले प्रतियोगिताको उद्घाटन गरेकी हुन्।

कास्कीमा रहेका तालहरुको प्रचार–प्रसार सहयोगार्थ ‘तालदेखि ताल’सम्म भन्ने मूल नाराका साथ प्रतियोगिता भएको हो।