अझै ४ दिनसम्म लूको संभावना

मनसुनी वर्षा १/२ दिन ढिला हुने

जनसम्मत
जेठ २९, २०८०, सोमबार

विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरू विशेष गरी मध्य तथा पश्चिमी भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ।

काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकाहरूमा पनि तापक्रममा बढ्दो छ।

देशका मध्य तथा पश्चिम तराईका भू–भागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्मका लागि देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको तराईका धेरैजसो भू–भागहरूमा अत्यधिक गर्मीको संभावना अझै रहने जनाएको छ।

साथै बागमती प्रदेशको तराईका भू–भाग र मधेस प्रदेशको पश्चिमी भू–भागमा थोरै तापक्रम घटेपनि अत्यधिक गर्मीको संभावना यथावत् रहने अनुमान गरिएको छ।

महाशाखाले ती भू–भागहरूमा आगामी ४ दिन (जेठ ३० देखि असार १ गते) सम्म तातो हावा तथा लूको संभावना यथावत् रहने देखिएकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ।

मधेस प्रदेशको पूर्वी भू–भागमा तापक्रम केही घट्ने संभावना देखिएपनि गर्मीको संभावना रहनुका साथै देशको पश्चिमी पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा पनि तापक्रम यथावत् रहन सक्ने संभावना रहेको छ।

ती भू–भागहरूमा पनि गर्मीको संभावना रहेकाले सचेत रहन आग्रह गरिएको छ। कोशी प्रदेशमा बदली र वर्षाको सम्भावना रहेकाले तापक्रम घट्नाका साथै अत्यधिक गर्मी नहुने अनुमान गरिएको छ।

मनसुनी वर्षा १/२ दिन ढिला हुने संभावना

साथै यस वर्ष मनसुनी वर्षाको आगमन पनि औसत मिति (जुन १३ तारिख) भन्दा १/२ दिन ढिला हुने संभावना रहेको अनुमान गरिएको छ।

तातो हावा तथा लूबाट हुने संभावित असरहरू जस्तै: थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्छ।

तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नदेखिने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत महाशाखाले अनुरोध गरेको छ।