४ दलको संयुक्त समाजवादी मोर्चा घोषणा

जनसम्मत
असार ४, २०८०, सोमबार

राजनीतिक ४ दल मिलेर समाजवादी मोर्चा घोषणा गरेका छन्।

सत्तारूढ गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र संसदबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी मिलेर आज (सोमवार) समाजवादी मोर्चा घोषणा गरेका हुन्।

काठमाण्डौको राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा ४ दलका अध्यक्षहरूले सहमतिपत्रमा हस्ताक्षर गर्दै समाजवादी मोर्चाको घोषणा गरेका हुन्।

सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हस्ताक्षर गरेका छन्।

नेपाली मौलिकतासहितको समाजवाद स्थापना गर्ने र नेपालको संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्यसहित मोर्चा गठन गरिएको समाजवादी मोर्चाका नेताहरुले बताएका छन्।

मोर्चाले दैनिक कार्यसंचालनका लागि एउटा सचिवालय गठन गर्नेछ। मोर्चालाई स्थानीयस्तरसम्म विस्तार गरिनेछ।