प्रतिगामी प्रवृत्तिविरुद्ध समाजवादी मोर्चा: प्रधानमन्त्री ‘प्रचण्ड’

जनसम्मत
असार ४, २०८०, सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा राजनीतिक परिवर्तनकाविरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा भएको बताएका छन्।

सोमवार ’समाजवादी मोर्चा नेपाल’ घोषणा कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ले मोर्चा घोषणा राजनीतिक परिवर्तनकाविरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा भएको बताएका हुन्।

उनले भने, ‘परिवर्तनलाई होच्याउने, अपमानित गर्ने अराजक र प्रतिगामी प्रवृत्तिका मान्छेहरूले टाउको उठाउन खोजेकाले समाजवादी मोर्चा तिनीहरूविरुद्धको युद्ध हो।’

नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व गरेका नेत्रविक्रम चन्द मोर्चामा सामेल हुनु गुणात्मक र क्रान्तिकारी महत्व भएको प्रधानमन्त्री प्रचण्डको जिकिर थियो।

उनले विप्लव समाजवादी मोर्चामा सामेल हुँदा संसदीय राजनीतिमा सामेल भएका आफूहरूमा लागेको धुलोमैलो सफा गर्न मद्दत पुग्ने उल्लेख गरे।

प्रधानमन्त्रीले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान बनाउन भूमिका खेल्ने सबैलाई हातेमालो गर्न आग्रहसमेत गरे।