प्रतिगमनविरुद्ध समाजवादी मोर्चाले डटेर लड्छ: नेता नेपाल

जनसम्मत
असार ४, २०८०, सोमबार

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनविरुद्ध समाजवादी मोर्चा डटेर लड्ने बताएका छन्।

सोमवार काठमाण्डौमा आयोजित ‘ं(समाजवादी मोर्चा नेपाल’ घोषणा कार्यक्रममा अध्यक्ष नेपालले प्रतिगमनका विरुद्धमा भने मोर्चाले डटेर सामना गर्ने उल्लेख गरे।

मोर्चा कसैलाई तर्साउन र मुकाबिला गर्नका लागि नभएको उनको भनाई थियो।

‘कसैसँग मुकाबिला गर्नका लागि समाजवादी मोर्चा निर्माण गरेको होइन,’ उनले भने।

उनले प्रतिगमनका पक्षमा भएकाहरू मोर्चासँग डराउन सक्ने जिकिरसमेत गरे।

उनले थपे, ‘यो मोर्चा स्वार्थको मोर्चा होइन। यो मोर्चा सिद्धान्तहीन मोर्चा होइन। यो मोर्चा विचारहीन मोर्चा होइन। यसको प्रस्ट उद्देश्य छ। हामी प्रतिगमनका विरुद्धमा र यथास्थितिवादको विरुद्धमा परिवर्तनका लागि एकताबद्ध हुने सम्पूर्ण देशभक्तहरू र समाजवादी शक्तिहरूलाई एकताबद्ध बनाएर लैजान चाहन्छौँ। केही केही नेताहरूलाई यो मोर्चा कसैलाई तर्साउन र कसैको मुकाबिला गर्न बनाइएको हो भन्ने लागेको रहेछ। तर, यो मोर्चा कसैलाई तर्साउन र कसैको मुकाबिला गर्नका लागि पनि होइन।’