पत्रकार महासंघ गोरखामा तालाबन्दी, मापदण्ड विपरीत सदस्यता खारेजीको सिफारिस गरेको भन्दै सेन्टरको आपत्ति

जनसम्मत
असार ५, २०८०, मंगलवार

नेपाल पत्रकार महासंघ गोरखा शाखामा तालाबन्दी गरेको छ।

शाखाले महासंघको केन्द्रीय मापदण्ड विपरीत सदस्यता खारेजीको सिफारीस गरेको भन्दै शाखा कार्यालयमा तालाबन्दी गरिदिएको हो।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति गोरखाले मंगलबार शुद्धीकरणको बहानामा नेतृत्वले क्रियाशील पत्रकारहरुको नै सदस्यता नवीकरण नगर्ने भनि गरेको निर्णयप्रति विरोध जनाउँदै तालाबन्दी गरेको हो।

सेन्टरले एक प्रेस बिज्ञप्ती जारी गर्दै कार्यसमितिको बैठकलाई छलेर मिति २०८०/०३/०४ गते पदाधिकारीको बैठक बसी शाखालाई कुनै अमुक राजनीतिक दलको भातृसंगठनको रुपमा स्थापित गर्ने रणनीतिका साथ सदस्यता शुद्धीकरणको मापदण्ड विपरीत हुने गरी क्रियाशील पत्रकारहरुको नै सदस्यता नवीकरण नगर्ने भनी गरिएको निर्णयप्रति घोर निन्दा प्रकट गर्दछ’, भनेको छ।

सेन्टरले महासंघलाई गलत निर्णय तत्काल सच्याउन जोडदार माग गर्दै ‘इतिहासका हरेक मोर्चामा अविचलित ढंगबाट नेपाली जनताको वाक स्वतन्त्रताको पक्षमा निरन्तर कलम चलाउँदै आइरहेको हाम्रो संगठन पत्रकारिता क्षेत्रका समग्र विकृती, विसंंगति र बेथितिहरुको अन्त्य गर्नुपर्छ भन्ने पक्षमा दृढ संकल्पका साथ उभिदै आएको पनि सर्वविदितै छ’, प्रेस सेन्टरले जारी गरेको बिज्ञप्तिमा भनिएको छ।