पोखरामा चिनियाँ परम्परागत ड्रागन बोट रेस फेस्टिभल सुरु

जनसम्मत
असार ८, २०८०, शुक्रबार

पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा आज (शुक्रबार) बाट २ दिने चिनियाँ परम्परागत ड्रागन बोट रेस फेस्टिभल सुरु हुने भएको छ।

पोखरामै यस प्रकारको प्रतियोगिता पहिलो पटक भएको हो।

चिनीयाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा फेस्टिभल भएको हो। असार ८ र ९ गते हुने प्रतियोगितामा चिनीयाँ ४ टिम र नेपाली ४ टिम गरी ८ टिमको सहभागिता छ।

प्रतियोगितामा सिचुवान ड्रागन बोट टिम, युवान ड्रागन बोट टिम, एस.जी ड्रागन्स, सिंगापुर, चाइना–नेपाल फ्रेण्डसीप ड्रागन बोट टिम पोखरा, नारा ड्रागन बोट टिम नेपाल, एनआरसीए बोट टिम नेपाल, फेवा लेक ड्रागन बोट टिम र पोखरा मेट्रोपोलिटान ड्रागन बोट टिमले प्रतिस्पर्धा गर्दैछ।

५ सय र २ सय मिटरको दूरीमा डुंगा दौड हुँदैछ। ५ सय मिटरतर्फ विजेताले नगद ५ लाख, उपविजेताले नगद ३ लाख तथा तृतीय स्थान हाँसिल गर्नेले नगद २ लाख पुरस्कार प्राप्त गर्नेछन्।

त्यसैगरि २ सय मिटर दौडतर्फ विजेताले नगद ३ लाख, उपविजेताले नगद २ लाख तथा तृतीय स्थान हाँसिल गर्नेले नगद १ लाख पुरस्कार प्राप्त गर्नेछन्। बंग्लादीघाटदेखि स्वीमिङपुल घाटसम्म यो दौड प्रतियोगिता सञ्चालन हुँदैछ।

२ दिने फेस्टिभलमा नेपाली, चिनियाँ खाना, चिनियाँ सांस्कृतिक कार्यक्रम फेस्टिभलको आकर्षण रहेको छ। नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागीका लागि ६० जना खेलाडीसहितको झण्डै २ सय चिनियाँ टोली प्लेन चार्टड गरेर पोखरा आएका छन्।