ड्रागन बोट रेसमा पहिलो खेलबाट ४ टिम फाइनलमा

जनसम्मत
असार ८, २०८०, शुक्रबार

चाइना नेपाल फ्रेण्डसीप ड्रागन बोट रेस प्रतियोगितामा पहिलो दिनको खेलबाट ४ टोली फाइनल चरणमा प्रबेश गरेका छन्।

आज (शुक्रबार) देखि सुरु प्रतियोगितामा नेपालका ४ र विदेशका ४ गरी ८ टिम बीच प्रतिस्पर्धा जारी छ।

आज भएको २ चरणको प्रतिस्पर्धाबाट नेपाल र चिनको २ टोली फाइनल चरणमा प्रबेश गरेका हुन्।

सिचुवाङ ड्रागन समुह, युनान ड्रागन समुह र नेपालको नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ एशोएिसन (एनआरसीए) र नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) फाइनल चरणमा प्रबेश गरेका छन्।

आज (शुक्रबार) २ सय र ५ सय मिटरको २/२ चरणको प्रतिस्पर्धा भएपनि दुबैतर्फको विधामा ४ टोली नै छनौट भएका छन्। २ सय मिटरमा सिचुवाङले १ मिनेट ४८ सेकेण्ड र ५ सय मिटरमा भने ४ मिनेट ३८ सेकेण्डमा उक्त दूरी पार गर्दै फाइनल चरणको यात्रा गरेको हो। त्यस्तै, नाराको टोलीले २ सय मिटरको दूरी १ मिनेट ५३ सेकेण्डमा पार गरेको थियो भने ४ मिनेट ४७ सेकेण्डमा ५ सय मिटरको दूरी पार गर्दै फाइनल चरणमा यात्रा सुनिश्चित गर्‍यो।

युनानको टोलीले २ सय मिटरको दूरी १ मिनेट ५५ सेकेण्डमा र ५ सय मिटरको दूरी भने ४ मिनेट ५३ सेकेण्डमा पार गर्दै फाइनल चरणको यात्रा पक्का गर्‍यो।

एनआरसीएले २ सय मिटरको दूरी १ मिनेट ५६ सेकेण्डमा र ५ सय मिटरको दूरी ५ मिनेट २ सेकेण्डमा पूरा गरी फाइनल चरणमा प्रबेश गरेको हो। चाइना नेपाल फ्रेण्डसीप, पोखरा महानगरपालिका, सिंगापुरको जीएस ड्रागन समुह र फेवा डुंगा व्यवसायी संगठनको टिम पहिलो दिनको प्रतिस्प्रर्धाबाटै बाहिरियो।

प्रतियोगितामा विजेता हुने टिमले जनही ५ लाख ५० हजार पुरस्कार पाउनेछ। उक्त प्रतियोगितामा पुरस्कारको लागि मात्र नगद ३० लाख खर्च हुनेछ। प्रतियोगितामा सहभागी सबै प्रतिस्प्रर्धी टिमले समेत पुस्कार पाउनेछन्।

शनिबारसम्म पोखरामा संचालन हुने उक्त फेष्टिभलको आज एक समारोहका बीच नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँती र नेपालस्थित चाइनिज राजदुत चेन सोङले संयुक्त रुपमा उद्घाटन गरे।

उद्घाटनको अवसरमा नेपाल र चाइनाको कला, संस्कृति झल्कने नृत्यसमेत प्रस्तुत: गरिएको थियो। नेपालमा पहिलो पटक भएको उक्त प्रतियोगिताको अवलोकन गर्न हजारौं पोखरेली पोखराको फेवाताल किनारामा पुगेका थिए।

दक्षिण एसियामै पहिलो पटक पोखरामा आयोजना भएकोे उक्त बोट रेसमा सहभागी हुन सिंगापुर, चाइना र नेपालका गरी ८ टिमको सहभागिता छ। पोखरा लेकसाइडको क्याम्पिङचोकमा चाइना तथा नेपालका केही स्टलहरु समेत राखिएका छन्।

नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ एशोसिएसन (एनआरसीए), चाइना नेपाल फ्रेण्डसीप, फेवा डुंगा व्यवसायी संगठन र पोखरा महानगरपालिकाको टिम प्रतियोगितामा सहभागी छन्। उक्त प्रतियोगितामा सहभागी टिममा १२ जना खेलाडीहरु हुन्छन भने १ जनाले चाइनिज ड्रम बजाउँदै त्यसको तालमा अन्य खेलाडीहरुले डुंगा खियाउँदै आफ्नो निर्धारित दूरी पार गर्न प्रतिस्प्रर्धा गरेका छन्।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनीयाँ दूतावास र पोखरा महानगरपालिकको आयोजना तथा पोखरा पर्यटन परिषद र चाइना ओभरसिज एशोसिएसनको सह–आयोजना एवं होटल एशोसिएसन नेपाल (हान), नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ एशोसियसन तथा अन्य संस्थाहरुसँगको सह–कार्यमा उक्त वोट रेससहित फेष्टिभलको आयोजना गरिएको हो।