पोखरा महानगरले पत्रकार कल्याणकारी कोष संचालन गर्दै

जनसम्मत
असार १०, २०८०, आइतबार

पोखरा महानगरपालिकाले पत्रकार कल्याणकारी कोष संचालनको कार्यक्रम ल्याउने भएको छ।

पोखरा महानगरपालिकाको १३ औँ अधिवेशनमा यस्तो उल्लेख गरिएको छ।

पोखरा महानगरपालिकाले नेपाल पत्रकार महासंघ कास्की शाखासँग सहकार्य र साझेदारी गरी पत्रकार कल्याणकारी कोष संचालन गर्ने भएको हो।

कामको शिलशिलामा दुर्घटना वा बिरामी भई उपचारमा समस्या परेका बखत श्रमजीवी पत्रकारहरूलाई आर्थिक सहायता उपलब्ध गराउने गरी कल्याणकारी कोष परिचालन हुने जनाइएको छ।

श्रमजीवी पत्रकारहरूको क्षमता तथा लेखन वृत्ति विकासको कार्यक्रमलाई महानगरपालिकाले प्राथमिकताका साथ प्रोत्साहन गर्ने बताएको छ।

महानगरपालिकाका प्रमुख धनराज आचार्यले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामाजिक सचेतीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएका श्रमजीवी पत्रकारहरूको लेखन वृत्तिको क्षमता थप परिष्कृत हुने विश्वासले यस प्रकारको कार्यक्रममा जोड दिइएको बताएका छन्।

यसअघि,पोखरा महानगरपालिकाको १३ औँ अधिवेशनमा नगर प्रमुख धनराज आचार्यले आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन्।

त्यस्तै, उपप्रमुख मन्जुदेवी गुरुङले ७ अर्व १५ करोड वरावरको आ.व. ०८०/०८१ को अनुमानित आय–व्यय विवरण वजेट प्रस्तुत गरिन्।