पोखरामा यस वर्ष पनि रोपाइँ महोत्सव

जनसम्मत
असार १५, २०८०, शुक्रबार

पोखरामा यस वर्ष पनि रोपाइँ महोत्सवलाई निरन्तरता दिइएको छ।

१८ वर्षदेखि निरन्तर पोखराका फरक–फरक क्षेत्रमा असार १५ का अवसरमा पोखरा पर्यटन परिषद्ले गर्दै आएको रोपाइँ महोत्सव यसपटक पोखराको कसेरी फाँटमा गरिएको हो।

स्वदेशी, विदेशी तथा स्थानीयको सहभागितामा परिषद्ले रोपाइँ महोत्सव मनाएको हो।

पर्यटनको ‘अफसिजन’ मानिने वर्षायाममा पनि विदेशी पाहूनालाई आकर्षित गर्न सुरु गरिएको रोपाइँ कार्यक्रम अहिले महोत्सवकै रुपमा अघि बढाइएको होे।

कृषि उत्पादनलाई बढावा दिन रोपाइँ महोत्सवको उद्देश्य एकातिर छ। अर्कातिर यसको मुख्य उद्देश्य भनेकै पर्यटन प्रवद्र्धन हो।

‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित रोपाइँ महोत्सवलाई निरन्तरता दिदैँ आएको हो। यसले अफसिजनमा पनि पर्यटक तान्ने गरी पहिचान बनाउन महोत्सव सफल भएको पोखरेली पर्यटन व्यवसायीहरुको विश्वास छ।

बर्षेनी फरक–फरक ठाउँमा महोत्सव गर्र्दै आएकोमा यसपटक ‘रोयल ट्रेक’को प्रवेशद्वारमा आयोजना गरिएको पर्यटन व्यावसायीहरु बताउँछन्।

महोत्सवका अवसरमा उत्कृष्ट कृषकलाई पुरस्कृत गरिएको थियो भने आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, हिले दौड प्रतियोगिता आदि गरिएको छ।

कास्कीमा ३० प्रतिशत मात्रै रोपाइँ

मनसुन ढिलो भित्रिएका कारण अघिल्लो वर्षको तुलनामा यसवर्ष कम क्षेत्रमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र कास्कीले जानकारी दिएको छ।

ज्ञान केन्द्रअनुसार असार १५ गतेसम्म कास्कीमा जम्मा ३० प्रतिशतमात्रै रोपाइँ भएको छ।

अघिल्लो वर्ष असार १५ गतेसम्म कास्कीका करिब ६० प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ।