फिफा यु–२० विश्वकपमा ट्रिपल ह्याट्रिकसहित ब्राउट हल्याण्डले बनाए आफ्नो नाममा नयाँ रेकर्ड

खेलको सातौं मिनेटबाट गोल गर्न शुरु गरेका हल्याण्डले ९० औं मिनेटमा ट्रिपल ह्याट्रिक पूरा गरेका थिए

जनसम्मत
जेठ १८, २०७६, शनिबार

पोखरा । नर्वेका १८ वर्षीय युवा फरवार्ड इर्लिङ ब्राउट हल्याण्डले एउटै खेलमा ९ गोल गरेर विश्व कीर्तिमान बनाएका छन् ।

पोल्यान्डमा जारी फिफा यु–२० विश्वकप फुटबल प्रतियोगितामा हल्याण्ड एक्लैले नौ गोल हानेर फुटबल जगतमा सनसनी मच्चाएका हुन् ।
हल्याण्डको ९ गोलको मदतमा नर्वेले यु–२० को इतिहासमा सबैभन्दा फराकिलो जित निकाल्दा हल्याण्डले पनि रेकर्ड बनाए । यु–२० मा एकै खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडीको रेकर्ड अब हल्याण्डको नाममा रहेको छ ।

बुधबार राति समूह चरणअन्तरगत तेस्रो खेलमा नर्वेले होन्डुरसलाई १२–० को फराकिलो अन्तरले हराएको थियो । जसमा हल्याण्ड एक्लैले ९ गोल हानेर ट्रिपल ह्याट्रिक’ पूरा गरे । खेलको सातौं मिनेटबाट गोल गर्न शुरु गरेका हल्याण्डले ९० औं मिनेटमा ट्रिपल ह्याट्रिक पूरा गरेका थिए ।

३६ औं मिनेटमा हल्याण्डले पहिलो ह्याट्रिक पूरा गरेका थिए । ६७ औं मिनेटमा डबल ह्याट्रिक पूरा गरे । त्यस्तै, ९० औं मिनेटमा उनले ट्रिपल ह्याट्रिक पूरा गरे । नर्वेले १२ गोल गरेको उक्त खेलमा होन्डुरसले एक गोलपनि फर्काउन सकेन ।

हल्याण्डले पहिलो हाफमा चार गोल गर्न सफल भए । उनले दोस्रो हाफमा पाँच गोल थपे । हल्याण्डले एक गोल भने पेनाल्टीमार्फत गरेका थिए । हल्याण्डले खेल शुरू भएको सातौं मिनेटमा नै गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । उनले २० औं मिनेटमा दोस्रो गोल गर्दै आफ्नो टिमको अग्रतालाई दोब्वर बनाए ।

उनले ३६ औं मिनेटमा पेनाल्टी गोल गर्दै ह्याट्रिक पहिलो ह्याट्रिक पूरा गरेका थिए । त्यपछि खेलेको ४३ औं मिनेटमा गोल गर्दै उनले पहिलो हाफमै व्यक्तिगत ४ गोल गरे ।

दोस्रो हाफ शुरू भएको पाँच मिनेटपछि नै उनले फेरी गोलको बर्षा गराए । उनले ५० औं मिनेटमा पाँचौं, ६७ औं मिनेटमा छैटौं गोल गर्दै डबल ह्याट्रिक पूरा गरे । त्यसपछि खेलको ७७ औं मिनेटमा साँतौं गोल, ८८ औं मिनेटमा आठौं र ९० औं मिनेटमा नवौं गोल गर्दै एउटै खेलमा ट्रिपल ह्याट्रिक पूरा गरे ।