म्याग्दीले जित्यो गण्डकी प्रदेशस्तरिय महिला भलिबलको उपाधि

जनसम्मत
असार १७, २०८०, आइतबार

गण्डकी प्रदेशस्तरिय महिला भलिबलको उपाधि म्याग्दीले जितेको छ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको सनसनीपूर्ण फाइनलमा पर्वतलाई ३–२ सेटले पराजित गर्दै उपाधि जितेको हो।

उपाधिसँगै म्याग्दीले नगद १ लाखका साथमा ट्रफी पुरस्कार जितेको छ। त्यस्तै, उपविजेता पर्वतले नगद ७० हजारका साथमा ट्रफी पुरस्कार जितेको छ।

यसअघि भएको फाइनल खेलमा पहिलो सेट २५–१५ ले जितेर म्याग्दीले पर्वतमाथि दवाव राख्ने प्रयास गरेपनि दोश्रो सेट २५–२३ र तेश्रो सेट २५–१७ ले जित्दै म्याग्दीविरुद्धको खेलमा पर्वत पूरै हावी बन्यो। तर, चौथो सेट २५–१५ ले र अन्तिम तथा पाँचौ सेट १५–१० ले जित्दै म्याग्दीले उपाधि जित्यो।

प्रतियोगितामा बागलुङ जिल्ला तेश्रो भएको छ। बागलुङले स्याङ्जालाई ३–१ सेटले पराजित गर्दै तेश्रो स्थान बनाउन सफल बन्यो। स्याङजासँग भएको खेलमा बागलुङले पहिलो सेट २५–१९ ले गुमाएपनि अन्तिम ३ सेट लगातार जित्दै नगद ४० हजारको पुरस्कार राशीको हकदार बनाउन सफल भयो। बागलुङले २५–१२, २५–२३ र २५–१५ ले खेल जितेको थियो।

प्रतियोगितामा उत्कृष्ट खेलाडी पर्वतकी पूजा सेन ठकुरी घोषित भइन्। उत्कृष्ट स्पाइकरको उपाधि म्याग्दीकी पवित्रा श्रीपाली र उत्कृष्ट सेटरको उपाधि म्याग्दीकी रेविना घर्तिमगर बने। सबै खेलाडीहरुले नगद ५ हजार रुपैयाँका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगितामा विजेता खेलाडी तथा टिमलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिंखडा, भौतिक पूर्वाधार तथा यातयात ब्यबस्था मन्त्री रेशमबहादुर जुग्जाली, गण्डकी प्रदेश सांसद प्रकाश बराल, सामाजिक विकास मन्त्रालयका सचिव बद्रिनाथ अधिकारी, परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मालगायतले नगद, ट्रफी तथा मेडल वितरण गरे।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको ब्यबस्थापनमा ३ दिन जारी प्रतियोगितामा ११ जिल्लाको सहभागिता थियो।

समापन कार्यक्रममा बोल्दै सामाजिक विकास तथा स्थास्थ्यमन्त्री सिंखडाले प्रदेशको खेलकुद विकासका लागि मन्त्रालय प्रतिवद्ध रहेको जनाउँदै प्रतियोगिताले गण्डकी प्रदेशको महिला भलिबल खेल विकासमा सहयोग पुग्ने बताइन्।