बागलुङको ताराखोलामा असारे मेला सुरु

जनसम्मत
असार १९, २०८०, मंगलवार

बागलुङको ताराखोलामा आज (मंगलबार) देखि  यस वर्षकोअसारे मेला सुरु हुँदैछ।

‘भौगोलिक तथा जातीय विविधता, कला संस्कृति, खेलकुदको संवद्र्धनमा हाम्रो सहभागिता’ भन्ने मूल नारासहित परम्परागत रुपमा मनाउँदै आएको असारे मेला संचालन हुने भएको हो।

ताराखोला गाँउपालिका वडा ५ स्थित असारे युवा क्लबले आज (मंगलबार, असार १९) देखि २४ गतेसम्म बिबिध प्रतियोगितात्मक खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित मेलाको अयोजना गरेको बताएको छ।

मेलाको अवसरमा बिभिन्न सांस्कृतिक झाँकी प्रदर्शनसँगै , खुल्ला वडास्तरीय पुरुष भलिबल, महिला भलिबल खुल्ला वडास्तरीय धनुषबाँण, खुल्ला सामुहिक नृत्य, भाले छुने प्रतियोगिता तथा स्लो–बाइक रेसलगायतका प्रतियोगिता एवं सांस्कृतिक कार्यक्रम हुँदैछ।

वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा विजेताले ८५ हजार र उपविजेताले ६० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

त्यस्तै, महिला भलिबल प्रतियोगितामा विजेताले नगद २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

धनुषबाँण प्रतियोगितामा प्रथम हुनेले ६० हजार र दोस्रो हुनेले ४० हजार रुपैयाँ र शान्त्वना हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

त्यस्तैगरी, सामुहिक नृत्य प्रतियोगितामा प्रथम हुनेले १३ हजार, दोस्रो हुनेले ८ हजार र तेस्रो हुनेले ५ हजार पुरस्कार पाउनेछन्।

यस्तै, स्लो–बाइक रेस प्रतियोगितामा प्रथम हुनेले ५ हजार दोस्रो हुनेले ३ हजार पुरस्कार पाउनेछन्।

यसैगरी, भाले छुने प्रतियोगितको बिजेताले लोकल भाले पुरस्कार पाउनेछ।

विशेषगरी, मगर समुदायका बासिन्दाले खेतबारीमा अन्नपात रोपिसकेपछि असारे बस्ने चलन रहेकोमा पछि आएर मेलामा परिणत भएको जानकारहरु बताउँछन्।

यस मेलामा बुढापाकाहरूले अन्नबाली राम्रो उब्जाउ होस् भनी असारे पूजा गर्ने र मेला बस्ने प्रचलन रहिआएको छ।

बिशेष गरि परम्परागत रुपमा जनजातिहरुले मनाउँदै आएको असारे मेला पछिल्लो समय ताराखोलाकै साझा पर्वको रुपमा सबै जातजातिहरुले सामुहिक रुपमा मनाउने गरेको स्थानीयको भनाई छ।

प्रत्येक बर्ष असार महिनाको तेस्रो अथवा चौथो सोमबार र मंगलबार पूजा गरेर मेला मनाउने प्रचलन रहेको छ।

असारे मेलामा अविवाहित तन्नेरीहरुले लिङ्गे पिङ थाप्ने र अविवाहित युवतीहरुले खाजा लिएर जाने चलन छ।

पूजा गरेपछि २ दिनसम्म बाली नष्ट नहोस् भनेर खेतबारीमा काम नगर्ने जसलाइ कनट बस्ने पनि भनिन्छ। फुर्सदको समयमा सबै मिलेर रमाइलो गर्न असारे मेलाको सुरुवात भएको मानिन्छ।

तस्बीर: एजेन्सी