प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीको लगातार दोस्रो हार

प्रतियोगिता अन्तरगत खेलिएका दुवै खेलमा हार व्यहोरेको गण्डकी तालिकाको पुछारमा रहेको छ

जनसम्मत
जेठ १८, २०७६, शनिबार

पोखरा । विभागीय टिम एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश विभागीय एपीएफसँग ६ विकेटले हारेको छ ।

प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा गण्डकी प्रदेशमाथि ६ विकेटले पराजित गरेसँगै लगातार तीन जितसहित एपीएफले सेमिफाइनलमा स्थान बनाएको छ ।

गण्डकीले दिएको १ सय २६ रनको लक्ष्य एपीएफले २३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । एपीएफको जितमा शरद भेषवाकरले सर्वा्धिक ३५ रन बनाए । यस्तै प्रदिप सिंह ऐरीले ३३, आसिफ शेखले २० रनको योगदान दिए । गण्डकीका दिपेश श्रेष्ठले ३ तथा किशोर महतोले १ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४१ ओभर २ बलमा अलआउट हुँदै १२५ रन बनायो । गण्डकीका लागि दिपेश श्रेष्ठले सर्वाधिक २७ रन बनाए । यस्तै आकाश थापाले १९, बिपिन खत्रीले १७, अनिल गुरुङले ११, किशोर महतो १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

एपीएफका भुवन कार्कीले ३ विकेट हात पारे । यस्तै अमर सिंह रट्यौला, यज्ञमान कुमाल र शरद भेसवाकरले समान समान २ विकेट हात पारे । यो जितसँगै ३ खेलमा सतप्रतिशत जित निकाल्दै एपीएफले ६ अंक जोडेको छ र समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।

एपीएफले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको हो । प्रतियोगिता अन्तरगत खेलिएका दुवै खेलमा हार व्यहोरेको गण्डकी तालिकाको पुछारमा रहेको छ ।