गण्डकी प्रदेशभर ६७ प्रतिशत मात्र धान रोपाइँ सकियो

जनसम्मत
श्रावण १, २०८०, सोमबार

रोपाईको मुख्य महिना मानिने असारसम्म गण्डकी प्रदेशभर जम्मा ६७ प्रतिशत मात्र रोपाइँ भएको छ।

कृषि विकास निर्देशनालय गण्डकीले जनाएअनुसार जम्मा ६७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको हो।

हालसम्म सबैभन्दा बढी नवलपुरमा ८५ प्रतिशत र सबैभन्दा कम म्याग्दीमा ४० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयले जनाएको छ।
यस्तै कास्कीमा ८०, स्याङ्जामा ५०, पर्वतमा ६५, बागलुङमा ६५, तनहुँमा ६८, गोरखामा ५० र लमजुङमा ६५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ।

हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका ९ जिल्लामा धान खेती हुँदै आएको छ। प्रदेशको कूल ४ लाख ७९ हजार ५ सय १७ खेतीयोग्य जमिनमध्ये यो वर्ष ९७ हजार ८ सय ९१ हेक्टरमा वर्षे धान लगाइने अनुमान निर्देशनालयको छ। गत वर्ष १ लाख ४ हजार ६ सय २३ हेक्टरमा वर्षे धान खेती गरिएको थियो।

गोरखाको छेवेटार, पालुङटार, आरुघोटा सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँमा चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाडीखोला, पामे, लेखनाथ, पर्वतको फलेवास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायत धानका प्रमुख पकेट क्षेत्र हुन्।

गण्डकी प्रदेशका किसानले सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनसुली, सुनौलो सुगन्धलगायत जातका धानको खेती गर्दै आएका छन्। निर्देशनालयको तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दै गएको देखिन्छ। ‘प्लटिङ’, तीव्र बजारीकरण, ठूल्ठूला भौतिक निर्माण आदिका कारण खेतीयोग्य जग्गा खुम्चिँदै गएको हो।