८० पत्रकारलाई डिजिटल पत्रकारिता तालिम

डिजिटल पत्रकारिता गर्दै आएका र यस विधामा पत्रकारिता गर्ने रुचि भएका सञ्चारकर्मीलाई प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले तालिम

जनसम्मत
असार २५, २०८०, सोमबार

काठमाण्डौंमा एक साता लामो पत्रकारिता तालिम सुरु भएको छ।

प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले ८० जनालाई डिजिटल पत्रकारिताको तालिम दिएको हो।

डिजिटल पत्रकारिता गर्दै आएका र यस विधामा पत्रकारिता गर्ने रुचि भएका सञ्चारकर्मीलाई आज (सोमबार)देखि एक साता लामो पत्रकारिता तालिम दिन प्रारम्भ गरेको हो।

तालिमका लागि करिब १ सय ५० भन्दा बढी निवेदन प्राप्त भएको थियो।

दूरशिक्षा प्रणालीका माध्यमबाट सञ्चालन गरिएको प्रशिक्षणमा मकवानपुर, काभ्रेपचाल्चाेक, उदयपुर, बाँके, कैलाली, रुकुम,साेलुखुम्बु, नवलपरासी, धनुषा, सुनसरी, नुवाकाेटलागयतका जिल्लाका पत्रकार तथा पत्रकारितामा रुची भएका सहभागी छन्।

यस तालिममा अनलाइन न्यूज पोर्टल र यूट्युब सञ्चालन, मोबाइल जर्नलिजम (मोजो) पत्रकारिता, डिजिटल मिडियाका लागि समाचार लेखन सीप र आचारसंहिताका विषयमा प्रशिक्षण दिइने प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी गराए।

बस्नेतले कार्यक्रमको उद्घाटन गर्दै नेपालमा मात्र नभइ विश्वमा मूलधारका सञ्चारकर्मीलाई डिजिटल पत्रकारिताको ज्ञान नभए उनीहरु प्रतिस्पर्धामा आउन नै नसक्ने अवस्था आएको उल्लेख गरे। मुलुकका पत्रकारको आवश्यकतालाई सम्बोधन गर्न काउन्सिल सदा तत्पर रहेको उनको भनाई थियो।

दूर शिक्षा प्रणालीका माध्यमबाट सञ्चालन गरिएको प्रशिक्षण बिहान ७ बजेदेखि ११ बजेसम्म चलेको थियो।

पहिलो दिनको प्रशिक्षण वरिष्ठ न्यू मिडिया विज्ञ करुण थापाले दिए। तालिम शुक्रबारसम्म चल्नेछ।