पोखरामा ३ महिने हाते तान बुनाई, २ महिने सिलाई तथा १ महिने गुडिया बनाउने तालिम सुरु

पोखरा महानगरपालिकाका विभिन्न वडाहरु वडा नं २७, १५, १९, १४, १६, १, २५ र ७ का गरी जम्मा ७० जना सहभागीहरुलाई लक्षित गरि तालिमको आयोजना गरिएको हो

जनसम्मत
जेठ १८, २०७६, शनिबार

पोखरा । पोखरामा ३ महिने हाते तान बुनाई, २ महिने सिलाई तथा १ महिने गुडिया बनाउने तालिम सुरु भएको छ ।

महिला सीप विकास संस्था पोखराको आयोजनामा उक्त तालिमहरु सुरु भएको हो । उक्त तालिमको एक कार्यक्रमका बीच शुक्रबार प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ८ का वडाअध्यक्ष रुद्रनाथ बरालले उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले नयाँ नयाँ कार्यक्रमहरुका बारेमा जानकारी दिँदै पछिल्लो समय महिलाहरु केन्द्रित विविध कार्यक्रमहरु वडामा आएको बताए । उनले वडामा रहेका कार्यक्रमहरुका लागि वडासंग समन्वय गर्न महिला सिप विकास संस्थाका महिला दिदिबहिनीहरुलाई आग्रहसमेत गरेका छन् । त्यस्तै, संस्थाले गर्ने राम्रा कार्यमा महानगरपालिकाले पनि सक्दो सहयोग गर्ने बरालको प्रतिबद्धता थियो ।

कार्यक्रममा बोल्दै संस्थाका कार्यकारी निर्देशक रामकली खड्काले तालिमको महत्वका बारेमा प्रष्ट पार्नुभएको थियो । तालिम एकदमै फलदायी हुने भन्दै तालिम लिए पश्चात स्वरोजगार बन्ने अवसर मिल्ने उनको भनाई थियो । यसका लागि ध्यानपुर्वक तालिम लिनुपर्ने र तालिममा सिकेका कुरालाई प्रशिक्षार्थीले व्यवहारमा लागु गर्नुपर्नेमा उनको जोड थियो ।

पोखरा महानगरपालिकाका विभिन्न वडाहरु वडा नं २७, १५, १९, १४, १६, १, २५ र ७ का गरी जम्मा ७० जना सहभागीहरुलाई लक्षित गरि आयोजित उक्त तालिममा प्रशिक्षकहरु सिता थापा, भगवति ढकाल, चुमाया पुर्जा र प्रेम कुमारी गुरुङले प्रशिक्षण दिने भएका छन् । तालिम संस्थाको भवन तथा लामाचौर स्थित शाखा कार्यलयमा सञ्चालन हुने संस्थाले जनाएको छ ।