काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा ३५ जना सदस्यहरुले धारणा राखे

जनसम्मत
श्रावण ४, २०८०, बिहीवार

नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आज (विहीबार) ३५ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका छन्।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा आज ३५ जना केन्द्रीय सदस्यले पार्टीको सागठनिक संरचना, रुपान्तरण अभियान, राष्ट्रिय राजनीति र सरकारमा पार्टीको भूमिकालगायतका विषयमा राखेका हुन्।

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले काँग्रेसका नेताले नै कोशीमा सभामुखलाई विवादमा पार्ने काम गरेको भन्दै पार्टीको आलोचना गरे।

हिँजोको बैठक धारणा राख्ने क्रममा केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले सभामुखको समर्थनमा मुख्यमन्त्री बन्नु गल्ती भएको भन्दै काँग्रेसका कोशी प्रदेश सभापति समेत रहेका थापालाई मुख्यमन्त्री मान्ने कि नमान्ने? भनी प्रश्न गरेका थिए।

थापाले बुढाथोकीलाई जवाफ दिँदै आफूलाई मुख्यमन्त्री नमाने पनि हुने प्रष्ट पारे।

यस्तै, अर्का केन्द्रीय सदस्य उदयशमशेर राणाले पार्टीभित्रै एकले अर्कोलाई हिलो छ्याप्ने काम गर्दा निराशा जगाएको उल्लेख गरे।

अर्का केन्द्रीय सदस्य तारामान गुरुङले प्रदेशको सरकार र सांसदलाई नागरिक तहबाट मन नपराएकाले यस विषयमा पार्टीले सोच्नु पर्ने बताए। संविधानको धाराका विषयमा पार्टीमा छलफल हुनुपर्ने उनको भनाई थियो।

बैठकमा संगठन विस्तारसहितको कार्ययोजना, निर्वाचनको समिक्षा, अनुशासन समितिको प्रतिवेदन, संसदमा पार्टीको भूमिका र सरकारमा पार्टीको सहभागितासम्वन्धी ५ वटा प्रस्ताव पेश भएका छन्।

ती प्रस्तावमाथि आजसम्म ८० जनाले धारणा राखेका छन्। कार्यसमितिको बैठक भोलि (शुक्रबार) बिहान ११ बजे पुन: बस्नेछ।