महिला विश्वकप : स्पेन र स्विट्जरल्यान्डको सहज जित

जनसम्मत
श्रावण ५, २०८०, शुक्रबार

महिला विश्वकप फुटबलमा स्पेन र स्विट्जरल्यान्डले सजिलो जित हात पारेका छन्।

प्रतियोगिताको शुक्रबार भएको खेलमा समूह ‘सी’ अन्तर्गतको खेलमा स्पेनले कोस्टारिकालाई ३—० गोलको फराकिलो अन्तरले हरायो।

स्पेनको जितमा ३ वटै गोल पहिलो हाफमा भएको थियो। खेलको २१ औं मिनेटमा कोस्टारिकाकी भालेरिया डेल क्याम्पोबाट आत्मघाति गोल भएपछि स्पेन अगाडि बढेको थियो।

खेलको २३ औं मिनेटमा आइताना बोनमातीले स्पेनको अग्रतालाई दोब्बर बनाइन्।

निर्धारित समयको २७ औं मिनेटमा स्पेनले तेस्रो गोल थप्यो। स्पेनका लागि तेस्रो गोल एस्थर गोन्जालेजले गरिन्। उक्त समूहमा स्पेन ३ अंकसहित पहिलो र कोस्टारिका चौथो स्थानमा छन्। जापान र जाम्बियाले भने पहिलो खेल खेल्न बाँकी छ।

फिलिपिन्समाथि स्वीट्जरल्याण्डको सहज जित

अर्को खेलमा स्विट्जरल्यान्डले फिलिपिन्सलाई २—० गोलले हरायो।

समूह ‘ए’ को उक्त खेलमा स्विट्जरल्यान्डका लागि ४५ औं मिनेटमा रामोना बाचम्यानले पेनाल्टीमार्फत पहिलो गोल गरिन्।

निर्धारित समयको ६४ औं मिनेटमा सेराइना सेभरिन पिउबेलले टोलीका लागि दोस्रो गोल गरिन्।

उक्त समूहमा ४ वटै टोलीले आफ्नो पहिलो खेल खेलिसकेका छन्।

उक्त समूहमा ३ अंकसहित स्विट्जरल्यान्ड पहिलो स्थानमा छ।

पहिलो खेलमा सफलता हात पारेको आयोजक न्युजिल्यान्ड पनि ३ अंकसहित दोस्रो स्थानमा छ।

पहिलो खेलमा पराजित टोली नर्वे तेस्रो र फिलिपिन्स चौथो स्थानमा छन्।

अस्ट्रेलिया र न्युजिल्यान्डमा महिला विश्वकपको नवौं संस्करण जारी छ।