कास्की–२ का काँग्रेसले विपी वनबाटिकामा रोपिएका बिरुवालाई गोडमेल गर्‍यो

जनसम्मत
श्रावण ५, २०८०, शुक्रबार

विभिन्न सन्दर्भ पारी बृक्षारोपण गर्ने तर संरक्षणमा ध्यान नदिने गरिएको वास्तविकतामा नेपाली काँग्रेस कास्की क्षेत्र नं २ ले आज (शुक्रबार) यसअघि बृक्षारोपण गरिएको स्थानका बोटबिरुवा गोडमेल गरेको छ।

पार्टीका तर्फबाट यस अघि २०७६ साल भदौ २४ गते विपी जयन्तीका अवसरमा उक्त स्थानमा बृक्षारोपण गरिएको नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का कार्यबाहक सभापति दीनेश आचार्यले जानकारी दिए।

बोटबिरुवा रोपिने तर त्यसको संरक्षण नहुने गरेको अवस्थालाई दृष्टिगत गर्दै विपी स्मृति दिवसका अवसरमा गोडमेल कार्यक्रम राखिएको उहाँले बताए।

कार्यक्रममा नेपाली काँग्रेसका पूर्व महामन्त्री डा.शशांक कोइरालाले विपीका विचार बर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताए। काँग्रेसले उहाँको चिन्तनलाई आत्मसात गरी जनता माझ जान सक्नुपर्नेमा उनले जोड दिए। उनले पार्टीका हरेक गतिविधि उत्पादनसँग जोडिनुपर्ने आवश्यकता औंल्याए। उनले जनताको जीवनस्तर परिवर्तनलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधव बास्तोला (मधु)ले काँग्रेसको विकल्प खोज्दा राष्ट्रियता, लोकतन्त्र नै गुम्ने खतरा हुने बताए। काँग्रेसको नभै काँग्रेसभित्र विकल्प खोज्न सकिने उनको धारणा थियो।

नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले काँग्रेस परिचालन हुँदा समुदाय नै परिचालन हुनुपर्ने आवश्यकता औंल्याए।

महासमिति सदस्य देवराज चालिसेले बिरुवाको गोडमेल भएजस्तै समयसमपेक्ष विपी विचारको गोडमेल गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं २ का सचिव देवकृष्ण पराजुली, वडा नं ९ का वडाअध्यक्ष दीपेन्द्र मर्सानी, उमा ठकुरीलगायतले विपी विचारलाई आत्मसात गरी अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

उक्त अवसरमा पूर्व महामन्त्री शशांक कोइरालाले बृक्षारोपण गरिएको स्थललाई विपी बनबाटिका घोषणा गरे।