पोखरा महानगरले गर्‍यो मलको मूल्य निर्धारण

जनसम्मत
श्रावण १२, २०८०, शुक्रबार

पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि मलको मूल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ।

पोखरा महानगरपालिका मल वितरण ब्यवस्थापन समितिको आज (शुक्रबार) बसेको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मूल्य निर्धारण गरेको हो।

महानगरका उपप्रमुख एवं मल वितरण ब्यवस्थापन समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डीएपी र पोटासको मूल्य निर्धारण गरेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिएका छन्।

बैठकमा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख ठाकुरप्रसाद बास्तोला र साल्ट टे«डिंग कर्पोरेशन लिमिटेड पोखराका प्रमुख बासुदेव उपाध्याय, महानगर सहकारी शाखा प्रमुख भरतराज पौडेल, महानगर सहकारी समितिका संयोजक रविरमण तिवारी, उपभोक्ता सहकारी संघका अध्यक्ष कृष्णप्रसाद बरालको उपस्थितिमा बैठकले निर्णय गरेको हो।

मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा प्रतिकेजी १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ ५ पैसासम्म निर्धारण गरिएको छ।

त्यस्तै, डीएपीको ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ ५ पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ ५ पैसासम्म तोएिको छ। मल वित्र्रmेताले प्लाष्टिक झोलाको मूल्य प्रति किलो थप लिन सक्नेछन्।

बैठकले पोखरा महानगर कृषि शाखामा सुचीकृत तथा बिक्री वितरण गर्नका लागि छनौट भएका २६ वटा वडाका ६७ केन्द्रबाट मल बिक्री वितरण भैरहेको छ।

मल बिक्री वितरणका लागि आर्थिक वर्ष २०७९/०८० मा बिक्री भएको आधारमा कोटा निर्धारण गर्ने निर्णय भएको मनहर कडरियाले जानकारी दिए।

सुचीकृत बिक्रेतालाई मलको कोटा निर्धारण गरिएको र किसानलाई तोकिएकै मूल्यमा सहज रुपमा मल उपलब्ध गराउन अनुगमन गर्ने गरिएको र यस वर्षपनि त्यसलाई निरन्तरता दिइने महानगरले जनाएको छ।

पोखरा महानगरमा गत आर्थिक वर्षमा युरिया, डीएपी र पोटास गरेर १९७७ .६५ टन मल खपत भएको छ।

गत आर्थिक वर्षमा पोखरा महानगरमा युरिया १२२१.७५ टन, डीएपी ६६३.८५ टन, पोटास ३९.९५ टन र कृषि चुन २.१ टन खपत भएको कडरियाले जानकारी दिए।