लामाचौर तीज महोत्सव–२०८० को तयारी सुरु

जनसम्मत
श्रावण १२, २०८०, शुक्रबार

महिलाहरूको महान चाड हरितालिका तिजको अवसरमा हरेक वर्ष पोखराको लामाचौरमा हुँदै आएको ‘लामाचौर तीज महोत्सव–२०८०’ यही भाद्र ३० देखि असोज १ गतेसम्म हुने भएको छ।

नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा हुने महोत्सवमा राष्ट्रिय महिला तथा पुरुष भलिवल, अन्तर महिला समुह तीज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, नरबहादुर बानिया स्मृति प्रदेशस्तरीय सितेरियो कराँते साथै राष्ट्रिय कलाकारहरूद्वारा साँस्कृतिक कार्यक्रमको प्रस्तुति मेलाको मुख्य आकर्षणको रुपमा रहेका छन् ।

२०५४ सालदेखि नै ‘मौलिक सस्कृतिको जगेर्ना गरौँ’ भन्ने उद्घोषका साथ कास्की जिल्ला भित्रकै ऐतिहासिक एवं बृहत र गण्डकी प्रदेशकै प्रतिष्ठित महोत्सवको रुपमा पहिचान बनाउन सफल ‘लामाचौर तीज महोत्सव–२०८०’ को २५ औं संस्करणको तयारी तिब्र रुपमा भइरहेको जनाइएको छ।

राष्ट्रको खेलकुद विकास र विस्तारमा सहयोग गरी भाइचाराको सम्बन्धलाई स्वर्णिम बनाउने, नव प्रतिभावान् खेलाडीलाई प्रतिभा प्रस्फुटन गराउनु तथा नेपालमा उत्कृष्ट खेलाडीको खेल प्रदर्शन गराउनु, अन्तरनिहित प्रतिभा प्रस्फुटनको लागि प्रोत्साहित गर्ने महोत्सवको लक्ष्य छ।

यसैगरी, मौलिक कला र लोक संस्कृतिको जगेर्ना गर्दै लामाचौर क्षेत्रले समाजमा गरेको उल्लेखनीय कार्यको परिचय स्थापित गर्ने, महिलाहरूको गायन एवं प्रस्तुतिकलाको विकासमा सहयोग गर्ने साथै महिला सशक्तीकरणका लागि भूमिका निर्वाह गर्नु, विभिन्न उद्योग, ब्यापार, व्यवसायीद्धारा उत्पादित वस्तु प्रर्वदनमा प्रोत्साहित गर्ने, आम दर्शकहरू माँझ सांस्कृतिक, खेलकुदलगायत विभिन्न रमाइला कार्यक्रमहरूद्धारा ज्ञान, मनोरञ्जन प्रदान गर्ने, आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा विकास गर्ने महोत्सवको उद्देश्य छ।

समाजका अध्यक्ष स्वागतसिहं भण्डारीले महोत्सव आयोजना गर्नको लागी आवश्यक सम्पूर्ण उपसमिति गठन गरी तयारी चलिरहेको बताए।

उनले सबै जना एकजुट भएर ऐतिहासिक एवं प्रतिष्ठित महोत्सव सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए।

महोत्सवको आयोजक नव आदर्श सामुदायिक विकास समाजले ४ वटा एम्बुलेन्स, जेष्ठ नागरिक सेवा केन्द्र, लामाचौर गोस्ते खेलमैदानमा फुटबल एकेडेमीलगायत सामाजिक र मानवीय सेवामा कार्य गर्दै आइरहेको छ।