प्रकाशक, सम्पादकद्वारा आचारसंहिता पालनामा प्रतिबद्धता

जनसम्मत
श्रावण ९, २०८०, मंगलवार

नयाँ दर्ता भएका अनलाइन सञ्चालक र सम्पादकहरुले पत्रकार आचारसंहिताको पालना गर्ने प्रतिबद्वता जनाएका छन्।

उनीहरुले पत्रकार आचारसंहिताको पालना गर्दै जिम्मेवार पत्रकारिता गर्न प्रतिवद्धता जनाएका हुन्।

प्रेस काउन्सिल नेपालले सञ्चालन गरेको अभिमुखीकरण कक्षामा विभिन्न ४६ वटा सञ्चार माध्यमका प्रतिनिधिहरुले आज (मंगलवार) यस्तो प्रतिबद्धता जनाएका हुन्।

अनलाइन सञ्चार माध्यम सञ्चालनमा आउनुअघि पत्रकार आचारसंहिता, पेसागत दायित्व र जिम्मेवारीबारे सजग गराउन काउन्सिलले नियमिति अभिमुखीकरण सञ्चालन गरी अनुगमन समेत गर्दै आएको छ।

त्यसक्रममा आज (मंलवार) विषयगत विज्ञद्वारा देशका विभिन्न भागबाट सञ्चालनमा आउन लागेका सञ्चार माध्यमलाई आचारसंहिताका विभिन्न पक्ष र पछिल्ला समस्याहरुबारे प्रष्ट पारिएको थियो।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले डिजिटल पत्रकारितालाई विश्वसनीय र प्रभावकारी बनाउन मिडिया साक्षरताको खाँचो पर्ने भएकाले यस्ता कार्यक्रमलाई बढावा दिनुपर्ने धारणा राखे।

‘पत्रकारिताप्रति समाजले निकै ठूलो अपेक्षा राखेको हुन्छ। गलत कामलाई गलत र सहीलाई सही रुपमा बाहिर ल्याउनुपर्छ’  बस्नेतले भने, ‘डिजिटल पत्रकारितालाई तथ्यपूर्ण र विश्वसनीय बनाउन सकेन भने ठूलो समस्या निम्त्याउनेछ।’

अध्यक्ष बस्नेतले छापा माध्यममा अहिले देखिएको संकट र डिजिटल बहावको पानीढलोमा अब सञ्चारकर्र्मीले आफ्नो पेसागत शुद्धताका लागि विशेष ध्यान दिनुपर्ने बेला आएको बताए।

‘प्रेस काउन्सिलले गर्ने अनुगमन, दिने सुझाव त छँदैछ, तर सञ्चार माध्यम स्वयम्ले स्वअनुगमन र आत्मसमीक्षा गरेर अघि नबढ्ने हो भने समाजले राखेको अपेक्षा पूरा हुन सक्दैन। त्यसको सबैभन्दा ठूलो घाटा सञ्चार जगतलाई नै हुन्छ’, उनले भने।

कार्यक्रमका विज्ञका रुपमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल र डा.महेन्द्र विष्टले काउन्सिलले जारी गरेका आचारसंहिता र विभिन्न सञ्चार निर्देशिकाहरुमा केन्द्रीत रहेर छलफल चलाएका थिए।

त्यस्तै, महासंघका अध्यक्ष विपुल पोख्रेलले सञ्चार क्षेत्रका विभिन्न संकट, अवसर र अबको दायित्वबारे सुझावहरु राखे।

अध्यक्ष पोख्रेलले सञ्चार क्षेत्र श्रम शोषणमुक्त क्षेत्रका रुपमा स्थापित हुनुपर्ने र त्यसका लागि व्यवस्थापकहरु तयार हुनुपर्ने सुझाव दिए।

‘पत्रकारले स्वतन्त्र र निष्पक्ष साथै निर्बाध ढंगले समाचार सम्प्रेषण गर्न पाउनुपर्छ। सेवा, सुविधाका कुनै अल्झन हुनुहुँदैन। व्यवस्थापकले यी पक्ष बुझ्नैपर्छ। न्यायमैत्री ढंगले काम गर्ने हो भने व्यवस्थापकका पक्षमा अहिले देखिएका समस्यासमेत कम हुँदै जान्छन्’ अध्यक्ष पोख्रेलले दाबी गरे।

महासंघका पूर्वअध्यक्ष दाहालले डिजिटल पत्रकारितालाई स्वच्छ र मर्यादित बनाउन काउन्सिलले देखाएको सक्रियताले आशा थपेको बताए।

उनले पत्रकार आचारसंहिंता पत्रकारकै भलाइको लागि निर्माण भएकाले काउन्सिलले हेर्ने मिडियाका सामग्रीको कन्टेन्ट पत्रकारकै हितमा हुने गरेको स्पष्ट पारे।

‘काउन्सिल सबै पत्रकारको स्वनियमन गर्ने फोकल संस्था हो, तसर्थ काउन्सिलले सचेत गराउने कुरा हामी आफ्नै लागि हो भनेर पालना गर्नु पर्दछ’ दाहालले जोड दिए।

अर्का पूर्वअध्यक्ष डा. विष्टले सम्पादकले सम्पादन गरेका समाचार बन्न योग्यसामग्री मात्रै समाचार हुने अन्यथा सूचना मात्रै हुने गरेको बताए।

उनले बालमैत्री सञ्चार निर्देशिका, २०७३, अपांगतामैत्री सञ्चार निर्देशिका, २०७६, महिला उत्तरदायी सञ्चार निर्देशिका, २०७६ र ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिकामा उल्लेखित गर्न नहुने विषयबारे प्रशिक्षण प्रदान गरे।