पब्लिक क्याम्पसलाई मुख्यमन्त्री पाण्डेको सुझाब

मर्जर प्रक्रिया अघि बढाउँदा गण्डकी प्रदेशले दिने सहयोगमा वृद्धि

जनसम्मत
श्रावण १३, २०८०, शनिबार

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशभित्रका पब्लिक क्याम्पसलाई मर्जर प्रक्रियामा अघि बढ्न सुझाब दिएका छन्।

शनिवार पोखरामा नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशको अधिवेशन उद्घाटन गर्दै उनले भने ‘विद्यार्थी संख्या, लगानी सबैलाई हेर्दा पब्लिक क्याम्पसहरु मर्जर प्रक्रियामा अघि बढ्दा लगानीअनुसारको प्रतिफल आउन सक्छ।’

सरकारले उच्च शिक्षामा गरेको लगानीअनुसार प्रतिफल प्राप्त हुन नसकेको बताउँदै मुख्यमन्त्री पाण्डेले कसरी प्रतिफल निकाल्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने सुझाब दिए।

गण्डकी प्रदेश सरकारले चालु वर्ष सामुदायिक क्याम्पससँग प्रदेश सरकार कार्यक्रम संचालन गर्ने नीति बनाएर कार्यक्रम सार्वजनिक गरिसकेको उनले बताए।

‘सामुदायिक क्याम्पसँग प्रदेश सरकार’ कार्यक्रमअन्तरगत अहिले १ करोड ७५ लाख रकम बिनियोजन भएको छ’ मुख्यमन्त्री पाण्डेले भने ‘चालु वर्ष नै यो रकम ५ करोड पुग्नेछ।’

प्राध्यापक, संचालक समिति, विद्यार्थीहरुले महशुस गर्नेगरी पब्लिक क्याम्पसलाई गण्डकी प्रदेश सरकारको सहयोग रहने मुख्यमन्त्री पाण्डेले प्रष्ट पारे।

आवश्यकता र चाहना धेरै तर बजेट थोरै हुँदा बजेट कम भएको उनले बताए।

पब्लिक क्याम्पसहरुले शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्ने, दक्ष युवा जनशक्ति बिदेशिने दर न्यूनिकरण गर्न ब्यवशायिक शिक्षा केन्द्रीत गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेको जोड थियो।

आफ्नो स्वामित्वमा जग्गा नहुँदा समस्या भएको पब्लिक क्याम्पसहरुको गुनासोपछि मुख्यमन्त्री पाण्डेले पब्लिक क्याम्पसहरुलाई आफ्नै स्वामित्वमा जग्गा ल्याउन सहज हुनेगरी कानून निर्माण गरिने बताए।

साथै उनले सामाजिक सेवाको भावनाले क्याम्पसलगायत सार्वजनिक संस्थालाई जग्गा दान गर्दा दताले तिर्नुपर्ने कर मिनाह गर्ने गरी कानून आवश्यक भएको बताए।

नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशका अध्यक्ष ऋषिराम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशभित्रका बिभिन्न पब्लिक क्याम्पसका संचालक समिति अध्यक्ष, प्राध्यापक संघका अध्यक्ष र क्याम्पस प्रमुखको उपस्थिति थियो।

उक्त कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितप्रकाश आले मगर, कृषि तथा भूमि ब्यवस्था मन्त्री महेन्द्रध्वज जिसी, प्रदेश नीति योजना आयोग गण्डकीका उपाध्यक्ष कृष्णचन्द्र देवकोटा, पब्लिक क्याम्पस संघका केन्द्रीय अध्यक्ष शत्रुधन गुप्तालगायतको उपस्थिति थियो।