सगरमाथाको उचाई मापन गर्ने खिमलाललाई पोखरामा भव्य स्वागत

सगरमाथा चढेर झन्डा फर्फराउनु भन्दा उचाई मापनका लागि डाटा संकलन गर्नु धेरै चुनौतिपूर्ण छ

जनसम्मत
जेठ १८, २०७६, शनिबार

पोखरा । सगरमाथाको उचाइ मापन टोलीका प्रमुख तथा नापी विभागका अधिकृत खिमलाल गौतमले ज्यानको बाजी लगाएर भएपनि सगरमाथाको उचाई मापन गरेर फर्किएका छन् ।

शुक्रबार नापी कार्यालय पोखरामा तथा आफ्नो घर फर्किएका खिमलाल गौतमले ८ हजार मिटरको उचाईमा दुई दिन बसेर भएर पनि मापनको काम सम्पन्न गरेको बताए ।

८ हजार मिटर भनेको डेन्जर जोन हो त्यो ठाउँमा पनि दुई रात विएर मापनका काम सकेर नै फर्किएको बताए । नापी कार्यालय कास्की प्रमुख समेत रहेका गौतमलाई कार्यलयमा गरेको सम्मान कार्याक्रममा उनले सर्वोच्च शिखर सगरमाथाको उचाई मापनको ऐतिहासिक कार्य भएको बताए । उनले नेपाली कर्मचारीले जस्तो सुकै काम पनि सम्पन्न गर्न सक्छन् भन्ने देखाउन सफल भएको बताए ।

गौतमले सगरमाथा चढेर झन्डा फर्फराउनु भन्दा उचाई मापनका लागि डाटा संकलन गर्नु धेरै चुनौति पुर्ण रहेको बताए । निकै चुनौतिपुर्ण ढंगले ८ हजार मिटरमा राष्ट्रको गौरवको लागि जिवन प्रवाह नगरि अघि बढेको उनको भनाई थियो । जेठ ८ गते सगरमाथाको चुचुरोमा पुगेको टोलीले चुचुरोमा १ घण्टा १६ मिनेट बिताएको थियो । उनले फर्किने क्रममा सगरमाथामा ट्राफिक जाम भएर करिब दुई घण्टा पर्खनु परेको बताए ।

सगरमाथाको उचाई मापनका लागि नापी विभागका प्रमुख अधिकृत खिमलाल गौतमको नेतृत्वमा चार जनाको टोली गएको थियो । जसमा अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल थिए । टोलीलाई छिरिङ जाङ्बु शेर्पाको टोलीले गाइड गरेको थियो । उनले नापीका डाटाहरु संकलन भइरहेका कारण मंसिरमा उचाई सार्वजनीक गर्ने बताए ।

गौतमलाई कास्की जिल्ला प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले सफल कार्यकालको स्वागत गर्दै आफनो लक्ष्य पूरा गरेर सकुसल फर्किएकोमा खुशी व्यक्त गरे । नेपालले पहिलोपटक आफ्नै स्रोत र साधनमा सगरमाथाको उचाई मापन गर्नु आफैंमा गौरवमय भएको बताए ।

२०७२ सालमा गएको भूकम्पपछि सगरमाथाको उचाई घटबढ भएको हुनसक्ने विषयमा अन्तराष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलो पटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाई नाप्ने काम गरेको हो । गत चैत २७ गते नापी विभागको टोली आधार शिविर प्रस्थान गरेको थियो ।

कास्कीको माछापुच्छे गाउँपालिकामा जन्मिएका गौतमलाई शुक्रबार नै गाउँपालिकाले पनि सम्मान गरेको छ । शुक्रबार नै एचआइभी संक्रमित गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेर पोखरा फर्किएका छन् । उनलाई पनि पोखरा विमानस्थलमा विभिन्न संघ सस्थाले स्वागत गरेका छन् ।