पोखरामा लेखा तालिम तथा कानूनी सचेतना कार्यक्रम

रेडिमेट सुनका गरगहनाको सट्टा ५० ग्राम काँचो सुन भन्सार छुटमा पाउने व्यवस्था गर्न महासंघको ध्यानाकर्षण

जनसम्मत
श्रावण १३, २०८०, शनिबार

पोखरामा लेखा तालिम तथा कानूनी सचेतना कार्यक्रम सकिएको छ।

सुनचाँदी व्यवसायीहरुलाई लक्षित गर्दै नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीले आज (शनिबार) तालिम तथा सचेतना कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका महासचिव किसान सुनारले उद्घाटन गरे।

सो अवसरमा बोल्दै सुनारले समयसापेक्ष कार्यक्रमको आयोजना गरेको भन्दै कास्की समितिलाई आभार प्रकट गरे। उनले पछिल्लो समय हुने अवैधानिक सुनचाँदी कारोबारबाट बच्नका लागि व्यवसायी आफै पनि सचेत हुनुपर्ने उल्लेख गरे।

सुनारले व्यवसायीको हकहितका लागि विशेष मापदण्डसहितको नीति निर्देशिका तर्जुमा गर्ने पक्षमा महासंघ रहेको बताए।

नेपाल सरकारले अहिले सुन आपुर्ति कम गर्दै आएको बताउँदै उनले सो विषयमा सरकारलाई ध्यानाकर्षण गराउन महासंघले पहल गरिरहेको समेत प्रष्ट पारे।

कार्यक्रममा अधिवक्ता विनिता नेपालीले व्यवसायीलाई पर्ने समस्याबारे सहजीकरण गर्दै कानूनी सहायताका विषयबारे प्रशिक्षण दिएकी थिइन्।
यस्तै, सीए अमृत गदलले व्यवसायीहरुलाई मर्यादित र व्यवस्थित तरिकाले व्यवसाय संचालन गर्नका लागि मद्दत पुग्ने तरिकाले लेखासम्बन्धी तालिम दिएका थिए।

सो तालिमपश्चात निकै उपयोगी कार्यक्रम रहेको सहभागी व्यवसायीहरुले बताए। सोही क्रममा नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको तर्फबाट रेडिमेट सुनका गरगहनाको सट्टा ५० ग्राम काँचो सुन भन्सार छुटमा पाउने व्यवस्था गर्न महासंघको ध्यानाकर्षण गराएको थियो।

कास्कीका अध्यक्ष रामबहादुर विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा कास्कीका प्रथम उपाध्यक्ष भरत विकको स्वागत मन्तव्य र सचिव ईश्वर कार्यक्रम संचालन गरेका थिए।