भानुभक्त प्राणी उद्यानका जग्गाधनीहरुको आन्दोलन सुरु

हेरौं, फोटो फिचरसहित

जनसम्मत
श्रावण १७, २०८०, बुधबार

तनहुँको भानुभक्त प्राणी उद्यानका जग्गाधनीहरुले दवावमूलक शान्तिपूर्ण आन्दोलन गरेका छन्।

मुआब्जा तोकेको २ वर्ष हुँदासम्म पनि उनीहरुले मुआब्जावापतको रकम नपाउँदा उनीहरु शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन्।

आन्दोलनस्वरुप उनीहरुले आज (मंगलबार) छिर्कनस्थित कार्यालयमा धर्ना कसे। कर्मचारीहरुलाई भित्रै राखेर कार्यालय समयभर कार्यालयमै ताला लगाइदिए।

उनीहरुले उद्यानपार्क कार्यालयमा आफ्ना मागपत्र समेत बुझाए।

उक्त क्षेत्रका १ सय ४२ घरधुरीका ९ सय ६१ रोपनी जग्गा र केही घरटहराले मुआब्जा रकम पाउनुपर्ने उद्यान प्रभावितहरुले बताउँदै आएका छन्।

जग्गाधनी र घरटहराका लागि कूल ४६ करोड ६० लाख २७ हजार २७ मुआब्जा रकमसमेत तोकिसकेको जग्गाधनी समन्वय समित संयोजक हर्कबहादुर कार्कीले बताउँदै आएका छन्।

कार्यालय संरक्षण प्रमुख अधिकृत भोजराज पन्त काठमाण्डौं रहेका कारण त्यहाँ कार्यरत बन रेञ्जरहरुलाई मागपत्र बुझाएका हुन्।
समयमा मुआब्जा नपाउँदा कतिपय स्थानीय घरवारविहीन भएर सडकमा आउनुपर्ने स्थितिमा छन्।

उद्यान स्थापना भई पूर्वाधार निर्माणले गति लिइसक्दासमेत सम्बन्धित जग्गाधनीले मुआब्जा नपाउँदा कठिनाइ भोग्नुपरेको जग्गाधनीको गुनासो छ। वन, अर्थ मन्त्रालयका साथै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलगायत प्रधानमन्त्री र राष्ट्रपतिसमक्ष मुआब्जाका लागि अनुरोध गर्दा पनि कुनै सुनुवाइ नभएको जग्गाधनीहरुको गुनासो छ।

विसं २०७७ पुस ७ गते गठित मुआब्जा मूल्यांकन उपसमितिले विस्तृत अध्ययन गरी जग्गाको प्रकार निर्धारण गरी सोही अनुसारको मूल्य सिफारिससहितको प्रतिवेदन वि.सं. २०७८ वैशाख १ गते जिल्ला मुआब्जा निर्धारण समितिमा पेस गरेको थियो।

हेरौं, फोटो फिचर