३३ प्रतिशत मात्र होइन, महिलाको समान सहभागिता हुनुपर्‍यो: अध्यक्ष हमाल

जनसम्मत
श्रावण २३, २०८०, मंगलवार

अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुकाभद्र हमालले महिलालाई ३३ प्रतिशतमा सीमित नराखी समान सहभागिता गराइनुपर्नेमा जोड दिएकी छन्।

महिलाहरूको क्षमता अभिवृद्धि गरी राज्यका हरेक अंगमा समान सहभागिता नै अनेम संघको प्रमुख मुद्दा रहेको उनले प्रष्ट पारिन्।

अनेम संघ, गण्डकीको बैठक समापन र कमिटि सदस्यहरुलाई प्रशिक्षणपछि आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले नेपालमा ३३ प्रतिशत महिलाको सहभागिता रहने कानुनी व्यवस्था गरिएपनि यो सकारात्मक रहेको तर पूर्ण नरहेको उल्लेख गरिन्।

‘जनसंख्याको आधा हिस्सा महिला छन्। आन्दोलनमा समान सहभागिता छ। त्यसैले, ३३ प्रतिशत हैन, समान हुनुपर्छ। उनले भनिन्, ‘जनसंख्याको हिसाबले महिलाको संख्या ५० प्रतिशतभन्दा बढी भएको हुनाले हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व ५० प्रतिशतलाई अनिवार्य गरिनुपर्छ। अहिले गरिएको व्यवस्थालाई नफेर्ने हो भने महिला सहभागिता ३३ प्रतिशतमा सीमित रहनेछ। महिलाले आधा सत्ता चलाउने व्यवस्था गर्नुपर्छ।’

अनेम संघ गण्डकीकी अध्यक्ष हिराकुमारी गिरीले गत जेठ ३१ र ३२ गते पोखरामा भएको सम्मेलनले आफ्नो नेतृत्वमा ७१ सदस्यीय कमिटि निर्वाचित गरेपछि अहिले साउन २० र २१ गते बैठकका साथै सदस्यहरुलाई प्रशिक्षण संचालन गरेको जानकारी दिइन्।