मालेपाटनमा भाद्र २९ देखि तीज विशेष कार्यक्रम हुँदै

जनसम्मत
श्रावण ३०, २०८०, मंगलवार

पोखरा–५, मालेपाटनस्थित सुर्यचन्द्र विकास समाजले यस वर्षपनि तीज विशेष कार्यक्रम गर्दैछ।

समाजले आउँदै गरेको हरितालिका तीजका अवसरमा भाद्र २९ गतेदेखि असोज १ गतेसम्म तीज गित प्रतियोगिता र महिला खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो।

तीज विशेष कार्यक्रम अन्तरगत खुला तीज गीत प्रतियोगिता, महिलाहरुको खेल कार्यक्रम लठ्ठो तान्ने, घैँटो फुटाउने, म्युजिकल चियर र अन्तर माविस्तरिय छात्रा बास्केटबल प्रतियोगिता हुने आयोजकले जनाएको छ।

आयोजकका अनुसार तीज गीत प्रतियोगितामा कास्की जिल्ला भित्रका १८ टिमबीच प्रतिस्पर्धा हुनेछ। जसमा प्रथम हुने टिमले ४० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ, तेस्रो हुनेले २० हजार र सान्त्वना हुने टिमले ७ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

साथै, उत्कृष्ट भेषभूषा र उत्कृष्ट नृत्य विधामा पनि पुरस्कार राखिएको आयोजकले जानकारी दिएको छ।

तीज गीत प्रतियोगिताका लागि जम्मा १८ टिम दर्ता गरिने र भाद्र २५ गतेसम्म दर्ता गरिसक्नुपर्ने टिम संकलन संयोजक कर्णबहादुर भुवाजीले जानकारी दिएका छन्।

त्यस्तै, खेलकुदको माविस्तरिय छात्रा बास्केटबलतर्फ प्रथम हुने टिमलाई नगद ३० हजार, दोस्रो हुने टिमलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने खेदकुद संयोजक विमल श्रेष्ठले जानकारी दिएका छन्।

तीज संस्कृतिको जगेर्ना गर्दै महिला दिदिबहिनीहरुको क्षमता अभिवृद्धि गराउनुका साथै खेल क्षेत्रमा प्रतिभा जन्माउन खेलकुदका कार्यक्रम पनि आयोजना गरिएको समाजका महासचिव हेमराज भण्डारीले बताए।

समाजकी अध्यक्ष कमला गौतमको अध्यक्षतामा बनेको मूल समारोह आयोजक कमिटी अन्तरगत विभिन्न उपसमितिहरु निर्माण गरिएको भण्डारीले जानकारी दिए।

प्रतियोगिताहरु पोखरा ५ मा रहेको मालेपाटन खेल मैदानमा हुनेछ।