गोरखाको अजिरकोटमा खादा र प्लाटिकजन्य सामाग्री प्रयोग गर्न बन्देज

जनसम्मत
भाद्र २, २०८०, शनिबार

जिल्लाको अजिरकोट गाउँपालिकाले पालिकाभित्र सार्वजनिक कार्यक्रमहरुमा खादा र प्लास्टिकजन्य सामाग्री प्रयोग गर्न बन्देज गरेको छ।

पालिकाले पालिकाभित्रका हुने सवै सार्वजनिक कार्यक्रमहरुमा बाहिरबाट आयात गरेर ल्याइने खादा र प्लास्टिकजन्य बस्तु प्रयोगमा भोली (आइतबार) देखि बन्देज लगाएको हो।

गाउँपालिका अध्यक्ष दीपक देवकोटाकाअनुसार ‘स्थानीय रुपमा कृषकहरुले उत्पादन गरेका फूलको प्रयोगमा जोडदिन बाहिरबाट हुने आयातलाई रोक्न निर्णय गरेको हो।

अनावश्यक रुपमा खादाको प्रयोग बढ्दै जाँदा स्थानीयस्तरमा उत्पादित फूलहरुले बजार नपाएर खेर जाने गरेको उनको भनाई छ।

खादा र प्लास्टिकजन्य सामाग्री भित्राउँदा पालिकाभित्रको रकम बाहिरिने र अर्कोतर्फ किसानको उत्पादन, श्रम र पसिना खेर जाने अवस्था पनि आउने गरेकाले स्थानीय उत्पादनलाई प्राथामिकता दिने पालिकाको नीति तथा योजना अनुसार यस्तो निर्णय गरिएको अध्यक्ष देवकोटाले बताए।

गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममै पालिकाभित्रका सार्वजनिक कार्यक्रमहरुमा खादा र प्लाष्टिकजन्य सामाग्री प्रयोगलाई हटाउने नीतिगत निर्णय गरेको छ।

सोही बमोजिम कार्यपालिकाको बैठक बसेर पालिकाभित्र खादा र प्लाष्टिकजन्य सामानमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको हो।

निर्णयसँगै अव सार्बजनिक कार्यक्रममा प्लास्टिकका बोतलको पानी र अन्य प्लाष्टिकजन्य सामानको प्रयोगसमेत गर्न नपाइने भएको छ।

यो निर्णयले पालिकाभित्रको पर्यावरण सुरिक्षत राख्न तथा अजिरकोटलाई स्वच्छ, सफा र हराभरा बनाउन सहयोग पुग्ने अपेक्षा राखिएको छ।