विप्लव समूहका पोलिटब्युरो सदस्य पदम राई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश

‘प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नुुपर्छ, सबै कम्युनिष्ट पार्टीलाई एकीकृत गर्नुपर्छ । पार्टी प्रवेशको शृंखला रोकिने छैन’

जनसम्मत
जेठ १९, २०७६, आइतबार

पोखरा । विप्लव समूहका नेता पदम राई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्  ।

विप्लव समूहका पोलिटब्युरो सदस्यसमेत रहेका राई आइतबार नेकपाको केन्द्रीय कार्यालय, धूम्रबाराहीमा पार्टी प्रवेश गरेका हुन् । नेता राई पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नं १ बाट निर्वाचित सभासदसमेत हुन् ।

नेता राईले देशमा केही परिवर्तन हुन्छ कि भनेर विप्लव समूहमा लागेको र पछिल्ला समयमा कतिपय घटना र अवस्थाका कारण हिंसात्मक लडाईं गर्दा कुनै शक्तिले केही नपाउने तर देश र जनताले फेरि दुःख पाउने भएकाले सो समूह परित्याग गरेको बताए ।

अध्यक्ष प्रचण्डसहित पार्टीका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा, महासचिव विष्णु पौडेललगायतले राईलाई नेकपाको केन्द्रीय कार्यालय, धूम्रबाराहीमा स्वागत गरेका हुन् ।

अध्यक्ष प्रचण्डले कुनै दिन मुलुकको समृद्धि र समाजवादका लागि विप्लव पनि यही पार्टीमा आएर जोडिनुपर्ने बताए ।

अध्यक्ष प्रचण्डले विप्लव समूहले लिएको बाटो गन्तव्यमा नपुगिने भएकाले यही पार्टीमा आएर मूलप्रवाहीकरण हुनुपर्ने बताए । उनले भने, ‘म अन्य साथीहरुलाई कुनै आग्रहबिना मूल राजनीतिक पार्टीमा समाहित हुन आग्रह गर्छु । आउनुस् बसेर छलफल र संवाद गरौँ । इतिहास, वर्तमान, राष्ट्र र अन्तराष्ट्रिय स्थितिको समीक्षा गरौँ । देश र जनताका आकांक्षा पूरा गरौँ । विश्वलाई समाजवादी आन्दोलनको नयाँ ढाँचा र सन्देश दिउँ । यो ऐतिहासिक आवश्यकता हो ।’

अध्यक्ष प्रचण्डले आफँैले हुर्काएका छोराछोरी रिसाएर घरबाट बाहिर गएमा अभिभावकलाई चिन्ता परे झैँ पदम राईहरु बाहिर रहँदा आफूलाई चिन्ता लाग्ने गरेकामा आज उहाँ पार्टीमा फर्केकोमा खुशी लागेको अनुभव सुनाए ।

अध्यक्ष ‘प्रचण्ड’, ले लामो बलिदान र संघर्षबाट नेपालमा कम्युनिष्ट आन्दोलन लोकप्रिय भई अहिले सत्ताको नेतृत्वमा रहेको बताए ।
अध्यक्ष प्रचण्डले अगाडि भने, लामो बलिदान र संघर्षबाट नेपालमा कम्युनिष्ट आन्दोलन लोकप्रिय भई अहिले सत्ताको नेतृत्वमा छ । जनताले ठूलो भरोसा गरेको छ । हामीले सुशासन र समृद्धिको यात्रालाई सफल बनाउनुपर्छ । सामाजिक न्यायसहितको नयाँ ढाँचामा हामी जान खोजेका छौँ । यसलाई असफल बनाउने तमाम प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नुुपर्छ । सबै कम्युनिष्ट पार्टीलाई एकीकृत गर्नुपर्छ । पार्टी प्रवेशको शृंखला रोकिने छैन ।’

अध्यक्ष प्रचण्डले सरकारले समाजवादको उद्देश्यमा जोड दिएर नीति कार्यक्रम र बजेट ल्याएको उल्लेख गरे । सापेक्षित रुपमा तल्लो वर्ग र उत्पीडित वर्गलाई प्राथमिकता दिएर समाजवादको आधार तयार गरिरहेकाले अन्य समूहका कोही कम्युनिष्टका नाममा छरिएर रहन नपर्नेमा जोड दिए ।