मुस्ताङको कागबेनीमा पठनपाठन बन्द

जनसम्मत
भाद्र १, २०८०, शुक्रबार

मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ।

कागखोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएपछि विद्यालयको पठनपाठन बन्द गरिएको हो।

बाढीले विद्यालयको खेल मैदान, कक्षाकोठा र छात्राबास भवन क्षति गरेपछि गाउँपालिकासँग समन्वय गरी यही भदौ ८ गतेसम्मका लागि पठनपाठन बन्द गरिएको हो।

साउनको २८ गते आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो।

कागबेनीमा बाढीले २९ घर पूर्ण तथा १३ घरमा आंशिक क्षति पुर्‍याएको छ।

हाल, विद्यालय भवन र खेलमैदानमा बालुवा थुप्रिएको छ। बाटो समेत हिलाम्मे छ। आवासीय रूपमा सञ्चालन भएको विद्यालयमा खानेपानी, विद्युत्, खाद्यान्न र आवासको व्यवस्थापन नभएसम्म पठनपाठन सञ्चालन गर्न केही समयका लागि असंभव जस्तै छ।

बाढीले विद्यालयको साढे २ रोपनी करेसाबारी र शिक्षकले आवासका रूपमा प्रयोग गरेको २ कोठे भवन भत्काएको छ। २ सय जना विद्यार्थी रहेको जनशान्ति माविको छात्राबासमा १ सय ४० जनाले आवासीय सुविधा लिएका छन्।

कागबेनीमा क्षतिग्रस्त घर, भवन, होटलमा जमेको गेग्रान हटाउने, भत्केका होटल तथा घरबाट बहुमूल्य सामग्रीसहित सामान उत्खनन गर्ने र बाढीले पूरै पुरेका घर, संरचनाको पहिचान गर्ने र संरक्षण गर्ने काम भइरहेको छ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, स्थानीयवासी र छिमेकी गाउँबाट आएका सर्वसाधारणले बालुवा पन्छाउने काम जारी छ। खानेपानी र विद्युत् आपूर्ति गराउने काम भइरहेको छ।

बाढीबाट विस्थापितलाई गाउँपालिकाको प्रशासकीय, सामुदायिक र जोमसोमको सामुदायिक भवनमा राखिएको छ। बाढीले पुल र सडक बगाएपछि अवरुद्ध बनेको जोमसोम–कोरला सडक मर्मत थालिएको छ।

मुस्ताङको उपल्लो भेग जाने सडक धेरै स्थानमा क्षतिग्रस्त हुँदा यातायात अवरुद्ध भएका छन्।

जोमसोम–कोरोला सडक कम्तीमा ३ ठाउँ यातायात अवरुद्ध छ।

तल्लो मुस्ताङको लेते–जोमसोम खण्डको पनि मार्फाखोलामा समय–समयमा यातायात अवरुद्ध हुने गरेको छ।