सम्पादक संवादको निष्कर्ष: सामाजिक सञ्जालको दुरुपयोग रोकौं

सामाजिक सञ्जालको व्यवस्थापनका लागि सचेतना बढाउन जोड

जनसम्मत
श्रावण २३, २०८०, मंगलवार

प्रेस काउन्सिल नेपालले भक्तपुरमा २ दिनसम्म आयोजना गरेको सम्पादक संवाद कार्यक्रमले पत्रकारितामा बढ्दो सामाजिक सञ्जाल दुरुपयोग रोक्नुपर्नेमा जोड दिएको छ।

यसको व्यवस्थापनका लागि सचेतना बढाउनुपर्ने कार्यक्रमको निष्कर्ष छ।

कार्यक्रममा मिडियामा सामाजिक सञ्जालको भूमिका, व्यवस्थापन र प्रभावबारे कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सञ्जाल विज्ञ डा. राजिव सुब्बाले सामाजिक सञ्जालको नियमनका विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी गराए।

उनले सामाजिक सञ्जालमा आउने नकारात्मक र द्वेषपूर्ण प्रचारलाई सञ्जालकै माध्यमबाट सुसूचित गदाए प्रभावकारी हुने प्रष्ट्याए।

‘सामाजिक सञ्जाललाई नजरअन्दाज गर्ने होइन, आत्मसाथ गर्नुपर्छ। सामाजिक सञ्जाल २ धारे तरबार हो’ उनले भने।

सामाजिक सञ्जालको प्रयोग गरेर नै सेवा प्रवाहमा समेत धेरै योगदान पुर्‍याउन सकिने उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको रचनात्मक प्रयोग बढाउन आवश्यक रहेको उल्लेख गरे।

उनले पत्रकारिता र सामाजिक सञ्जालको प्रयोगलाई जोडेर काउन्सिलले सचेतनामूलक कार्य गर्न र स्वनियमनको लागि आवश्यक काम गरिरहेको जानकारी दिए।

‘हामी निष्क्रिय बसेका छैनौँ। यस कार्यक्रममा आएका सुझावबाट कसरी अगाडि बढ्न सकिन्छ सोहीअनुसार अगाडि बढ्नेछौँ’ उनले थपे।

न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले सामाजिक सञ्जालको प्रभाव मुलधारका सञ्जाल माध्यमभन्दा प्रभावशाली देखिन थालेकाले सामाजिक सञ्जाललाई जिम्मेवार र परिपक्व बनाउनुपर्ने बताइन्।

कार्यक्रममा बोल्दै सूचना तथा प्रसारण विभागका महानिर्देशक शंकर नेपालले दर्ता नभएका सञ्चार माध्यम र सामाजिक सञ्जाललाई कार्यविधि बनाएर भएपनि तत्कालको समस्या संबोधनका लागि गृहकार्य गरिरहेको जानकारी दिए।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव नेत्र सुवेदीले स्वनियमनलाई पहिलो प्राथमिकतामा राखी कानुनी व्यवस्थाका लागि मन्त्रालयले कार्यदल बनाई काम गरेको उल्लेख गरे।

कार्यक्रममा अन्तर्राष्ट्रिय पत्रकार महासंघका प्रतिनिधि बद्री सिग्देलले सामाजिक सञ्जाल नियन्त्रणको सोंच राख्न नहुने बताए।

उनले सञ्जालको दुरुपयोग गर्नेलाई विद्यमान कानुन कार्यान्वयन गर्दा नै पर्याप्त हुने भन्दै थप कानुन ल्याउन आवश्यक नरहेको प्रष्ट पारे।

प्रेस काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलले विगतदेखि हालसम्म गरेका कार्यक्रमका सुझावका आधारमा नै काम गरिरहेको भन्दै यस संवादले थप कार्ययोजना बनाउन मार्गदर्शन गरेको उल्लेख गरे।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र बिष्ट, प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारी पौडेल, अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारी, वरिष्ठ पत्रकार बबिता बस्नेत, निर्मला शर्मा, सम्पादकहरू उमेश चौहान, अखण्ड भण्डारी, दुर्गा सुवेदी, कमलदेव भट्टराई, विश्वास बराल, सागर पण्डित, अधिवक्ता तथा पत्रकार लिलाधर घिमिरेलगायतले पत्रकारिता क्षेत्रका विषयमा नीतिगत स्पष्टताका लागि यस्ताखाले बहस, अन्तरक्रिया संवादको निरन्तरता हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा ५० भन्दा बढी सम्पादकहरूको सहभागिता थियो।

यसअघि सोमबार न्यु मिडिया र पत्रकार आचारसंहिताका चुनौती विषयक सम्पादक संवाद कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा सम्पादकहरूले छलफल गरेका थिए।