एसिया कप क्रिकेट: नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित

जनसम्मत
भाद्र १३, २०८०, बुधबार

एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको छ।

पाकिस्तानको मुल्तानमा बुधबार सम्पन्न खेलमा पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय ४ रन बनाउँदै अल आउट भएसँगै पराजित भएको हो।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए भने आरिफ शेखले २६ रन जोडे।

अन्तिम विकेटका रुपमा ललित राजवंशी सदाब खानको बलमा एलबीडब्लू आउट भए। ललितले कुनै रन जोड्न सकेनन्।

त्यसअघि, २३ ओभर २ बलमा कुशल मल्ल पनि सदाब खानको बलमा इफ्तिकार अहमदबाट क्याच आउट भए।

खेलको २१ ओभर बलमा नेपालका सन्दीप लामिछाने सदाब खानकै बलमा डक आउट भए।

त्यसअघि, खेलको २१ ओभर ३ बलमा गुल्शन झा २३ बलमा १३ रन बनाउँदै आउट भए।

गुल्सनलाई पनि सदाब खानले नै आउट गरे। उनी खानको बलमा फखर जमानबाट क्याच आउट भए भने खेलको २० ओभर ५ बलमा नेपालका दीपेन्द्रसिंह ऐरी ११ बलमा ३ रन बनाएर आउट भए।

दीपेन्द्रसिंह मोहम्मद नवाजको बलमा आउट भए। खेलको १६ ओभर ६ बलमा सोमपाल कामी ४६ बलमा २८ रन बनाउँदै आउट भए।

सोमपाल हारिस रउफको बलमा विकेटकिपर मोहम्मद रिजवानबाट क्याच आउट भए।

त्यसअघि, खेलको १४ ओभर ४ बलमा नेपालका आरिफ शेख ३८ बलमा २६ रन बनाउँदै हारिस रउफको बलमा बोल्ड भए।

१ ओभर ४ बलमा आशिफलाई नसीम शाहले आउट गरे।

आशिफले ५ बलमा ५ रन बनाए।

कुशल भुर्तेल दोस्रो इनिङको पाचौँ एवं उनको स्थानमा मैदान प्रवेश गरेका कप्तान रोहित पौडेल छैटौँ बलमा आउट भए।

कुशलले ८ रन बनाए भने कप्तान रोहित डक आउट भए।

दुबैको विकेट सहीन शाह अफ्रिदीले लिए।

कुशललाई विकेटकिपर मोहम्मद रिजवानले क्याच आउट गराए भने कप्तान पौडेल एलबीडब्लू आउट भए।

पाकिस्तानका सदाब खानले ४ तथा हारिस रउफ र सहीन शाह अफ्रिदीले समान २ विकेट लिए।

त्यस्तै, नसीम शाह र मोहम्मद नवाजले समान १/१ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनाएको थियो।

पाकिस्तानका लागि कप्तान बाबर आजमले १ सय ५१ रन बनाए भने इफ्तिकार अहमदले अविजिति एक सय ९ रन बनाए।

त्यसैगरी, मोहम्मद रिजवानले ४४, फखर जमानले १४ तथा आगा सलमान र इमाम उल हकले समान ५ रन जोडे भने सदाब खानले ४ रन बनाए।

नेपालका सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र करण केसीले १ विकेट लिए।