आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट: नेपालको विजयी सुरुआत

नेपालले घरेलु टोली मलेसियालाई ५ रनले हरायो

जनसम्मत
भाद्र १४, २०८०, बिहीवार

मलेसियामा आज (बिहीबार) बाट सुरु महिला टी–ट्वान्टी विश्वकप अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले सुखद सुरुआत गरेको छ।

मलेसियाको बायोमास ओभल मैदानमा विजयी सुरुआत गर्ने क्रममा नेपालले घरेलु टोलीलाई ५ रनले पराजित गरेको हो।

नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७९ रन मात्र बनायो।

मलेसियाका लागि उनिफ्रेड दुराईसिंघमले सर्वाधिक २८ रन बनाइन्।

नेपालका लागि कविता कुँवर र कविता भट्टले समान २/२ तथा रुबिना क्षेत्री र अस्मिना कर्माचार्यले समान १/१ विकेट लिए।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको थियो।

नेपालका लागि ओपनर सिताराना मगरले ५४ बलमा १ चौकाको सहयोगमा अविजित ३८ रन बनाइन्।

अप्सरी बेगमले १७ तथा कप्तान रुबिना क्षेत्रीले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन असफल रहे।

मलेसियाकी एना हमिजाले २ विकेट लिइन्।

यस प्रतियोगितामा ११ राष्ट्रको सहभागीता छ। सहभागी ११ देशलाई २ समूहमा विभाजन गरिएको छ।

प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन्।

समूह ‘बी’ मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन्।

प्रतियोगितामा हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

फाइनलमा पुग्ने २ टोलीले २०२४ मा हुने ग्लोबल टी–ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन्।

दोसो खेलमा नेपालले भोली (शुक्रबार) बहराइनसँग खेल्नेछ।