आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट: नेपालको लगातार तेस्रो जित

नेपालसँग भुटान ३ विकेटले पराजित

जनसम्मत
भाद्र १७, २०८०, आइतबार

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले लगातार तेस्रो जित निकालेको छ।

मलेसियाको बांगीमा आज (आइतबार) भएको खेलमा भुटानलाई ३ विकेटले हराउँदै नेपालले अपराजित यात्रा कायम राखेको हो।

भुटानले दिएको ४० रनको लक्ष्य नेपालले १३ ओभर २ बलमा ७ विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपालकी कप्तान रुविना क्षेत्रीले १२, कविता जोशीले ९ तथा सिता रानामगरले ८ रन बनाए।

भुटानकी अन्जली घलेले ३ तथा छिरिङ जानगेम्बाले २ विकेट लिए। यस्तै, अन्जु गुरुङ र सोनमले १/१ विकेट लिए।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ३९ रन बनाएको थियो।

भुटानका लागि कप्तान डेचेन वांग्मोले सर्वाधिक २१ रन जोडिन्।

अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

नेपालकी पूजा महतोले ३ तथा कविता कुवँर, खुसी डंगोल र कप्तान रुबिना क्षेत्रीले १/१ विकेट लिए।

नेपालले आफ्नो पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा बहराइनलाई हराएको थियो।

नेपालले चौथो खेल सोमबार कतार र समूह चरणको अन्तिम खेल मंगलबार यूएईसँग खेल्नेछ।

प्रतियोगितामा ११ राष्ट्रको सहभागिता छ। सहभागी ११ देशलाई २ समूहमा विभाजन गरी खेल खेलाइएको छ।

प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन्।

समूह ‘बी’ मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन्।