आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट: कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

नेपालले कतारलाई ९ विकेटले हरायो

जनसम्मत
भाद्र १८, २०८०, सोमबार

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ।

मलेसियाको बांगीमा आज (सोमबार) भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो।

प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो।

यसअघि, नेपालले सुरुआती खेलमा घरेलु टोली मलेसियालाई ५ रनले हराएको थियो।

त्यस्तै, दोस्रो खेलमा बहराइनलाई १० विकेट हराएको थियो।

यसैगरी, तेस्रो खेलमा भुटानलाई ३ विकेटले पराजित गरेको थियो।

समूह ‘ए’ बाट नेपालले एक खेलअगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो।

जितको लागि ७५ रनको सामान्य विजयी लक्ष्य पछाएको नेपालले १० दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान दिइन्।

काजलले २८ बलमा ४ चौकासहित ३२ रन जोडिन्।

त्यस्तै, इन्दु बर्मा १२ बलमा ३ चौकासहित २० रनमा अविजित रहिन्।

सीता रानामगर २३ बलमा १७ रनमा अविजित रहिन्।

त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रनको योगफल बनाएको थियो।

कतारकी साची धडवालले ४४ बलमा १ चौकासहित सर्वाधिक २१ रनको योगदान दिइन्।

त्यस्तै, एलिना खानले १५, एन्जिली मारेले अविजित १४ तथा कप्तान आयशाले १० रन बनाइन्।

नेपालका लागि इन्दु बर्माले ३ विकेट लिइन् भने पूजा महतो र कविता जोशीले समान १/१ विकेट लिए।

नेपालले समूह चरणको अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ।