‘भ्रममा नपरौँ, सामाजिक सञ्जालका सबै विषय समाचार होइनन्’

जनसम्मत
भाद्र १८, २०८०, सोमबार

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले व्यक्तिले प्रयोग गर्ने सामाजिक सञ्जालको सम्बन्धमा चिन्ता व्यक्त गरेका छन्।

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै संचार माध्यमको प्रस्तुति र भूमिकालाई परिस्कृत गर्न जरुरी भएकाले यसतर्फ ध्यान दिन संचार माध्यमलाई उनको सुझाव छ।

व्यक्तिले प्रयोग गर्ने सञ्जालमा राखिएका सामग्रीले भ्रम छर्दै गएकोतर्फ संचार माध्यम सजग बन्दै विश्वसनीय पत्रकारिता गर्नुपर्ने उनले जोड दिएका छन्।

‘कोही पनि भ्रममा नपरौँ। सामाजिक सञ्जालमा पस्किएका सबै विषय समाचार होइनन्। तर, त्यस्ता विषयवस्तुले जनमानसलाई झुक्याइरहेका छन्। संचार माध्यमले आफ्ना तथ्यपूर्ण र विश्वसनीय प्रस्तुतिबाट यस्ता भ्रम हटाउन सक्नुपर्छ’ अध्यक्ष बस्नेतले सोमबार नयाँ खुलेका अनलाइन संचार माध्यमका सम्पादक, प्रकाशकलाई काउन्सिलमा दिइएको अभिमुखीकरणका क्रममा सुझाव दिए।

उनले आधारहीन विषयवस्तु र हुबहु चोरी गरी समाचार बनाउने कतिपय अनलाइनले पत्रकारिता जगतमै हिलो छ्यापेकाले तिनलाई काउन्सिलले कारबाही गर्दै आएको जानकारीसमेत दिए।

अभिमुखीकरणका सहभागीलाई पत्रकार आचारसंहिता र संचार निर्देशिकाहरुमा केन्द्रीत रही प्रस्तुति राखिएको थियो।

डिजिटल मिडियाले ल्याएको चुनौती र संचार माध्यमले ध्यान पुर्‍याउनुपर्ने विषयबारे काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी र नेपाल टेलिभिजनका समाचार प्रमुख पुष्पहरि क्याम्पा राईले प्रकाश पारे।

कार्यक्रममा विभिन्न ३२ संचार माध्यमका सञ्चालक/सम्पादकको सहभागिता थियो।