समृद्धिको ढोका खोल्न प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री पाण्डे

जनसम्मत
भाद्र २३, २०८०, शनिबार

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक समृद्धिको नयाँ संभावनाको ढोका खोल्न गण्डकी प्रदेश सरकार प्रयासरत रहेको बताएका छन्।

नेपाल पत्रकार महासंघ गोरखा शाखाको नवनिर्मित भवनको आज (शनिबार) उद्घाटन गर्दै उनले प्रदेश सरकार सकारात्मक सोंचका साथ इमान्दारितापूर्वक विकास र समृद्धिको दिशामा अघि बढिरहेको बताए।

‘गण्डकी प्रदेशभित्रका सबै क्षेत्रमा समानुपातिक ढंगबाट विकास अगाडि बढाउन सकियोस् भन्ने प्रदेश सरकारको चाहना छ’, उनले भने,

‘त्यसका लागि आर्थिक समृद्धिको नयाँ संभावना खोल्न सकियोस् भन्ने कुरामा सरकारले सकारात्मक र इमान्दारितापूर्वक प्रत्यत्न गरिरहेको छ।’

नेपाली समाजमा पछिल्लो समय राजनीतिक दल र सरकारप्रति केही असन्तुष्टि र आक्रोश देखिएको मुख्यमन्त्री पाण्डेल उल्लेख गरे।
त्यसलाई सबै क्षेत्र मिलेर समाधान गर्नुपर्ने मुख्यमन्त्री पाण्डेले जोड दिए।

उनले भने, ‘समाजमा देखिएका असन्तुष्टि र आक्रोशलाई सरकारले सम्बोधन गर्नुपर्ने आवश्यकता छ। हाम्रा सीमित स्रोत र साधनलाई अधिकतम् प्रयोग गरेर मुलुकमै बसेर केही गर्नसक्ने वातावरण सिर्जना गर्नुपर्छ। त्यसतर्फ, हामी सबैको सकारात्मक र जिम्मेवारीपूर्ण भूमिकाको आवश्यकता छ।’

मुख्यमन्त्री पाण्डेले जनताको आक्रोश र असन्तुष्टिलाई हिंसामा बदल्ने प्रयत्न भइरहेकाले सबै मिलेर समस्यालाई समयमै नियन्त्रण गर्नुपर्ने बताए।

उनले गण्डकी प्रदेश सरकार विकासका लागि संचारकर्मीसँग हातेमालो गरेर हिँड्न प्रतिबद्ध रहेको समेत उल्लेख गरे।

‘गण्डकी प्रदेश सरकार पत्रकारिताको विकासका लागि पत्रकारिता क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको छ। संचारकर्मीबाट सकारात्मक सहयोग र सुझावको अपेक्षा छ’, उनले भने।

उनले गण्डकीलाई नमूना प्रदेश बनाउनका लागि सबैको सहयोगको आवश्यकता औँल्याए।

मुख्यमन्त्री पाण्डेले पत्रकारको क्षमता अभिवृद्धिका लागि बजेट विनियोजन गरेको समेत उल्लेख गरे।

सम्बन्धित संघसंस्थासँग छलफल गरेर गण्डकी प्रदेशको आमसंचार विधेयक संसदमा दर्ता गराएको उनको भनाइ थियो।

राससमा समाचार छ।