प्रधानमन्त्री के.पी. शर्मा ओली यही जेठको २५ देखि युरोपका विभिन्न मुलुकहरुको भ्रमणमा निस्कदै

प्रम ओली अन्तराष्ट्रिय श्रम संगठन आइएलओको शतवार्षिकीमा विशेष समारोहलाई सम्वोधन गर्ने कार्यक्रम छ ।

जनसम्मत
जेठ २०, २०७६, सोमबार

पोखरा । प्रधानमन्त्री के.पी. शर्मा ओली यही जेठ २५ गते युरोपका विभिन्न मुलुकहरुको भ्रमणमा जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री ओलीले यही जेठ २५ गते देखि असार १ गतेसम्म युरोपका विभिन्न मुलुकहरुको भ्रमण गर्नुहुने कार्यक्रम रहेको जानकारी दिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली अन्तराष्ट्रिय श्रम संगठन आइएलओको शतवार्षिकीका अवसरमा आयोजना हुने विशेष समारोहमा भाग लिन जेठ २६ र २७ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा रहने छन् ।

 

प्रम ओली अन्तराष्ट्रिय श्रम संगठन आइएलओको शतवार्षिकीमा विशेष समारोहलाई सम्वोधन, जेनेभामा साइडलाइनमा केही द्विपक्षीय भेटघाट, अमेरिकी भ्रमणमा रहँदा संयुक्त अधिराज्यका प्रधानमन्त्री टेरिजा मेसँग द्विपक्षीय भेटवार्ता, अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिने विशेष समारोहलाई सम्बोधन, फ्रान्सेली समकक्षी एड्वार्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

 

प्रधानमन्त्री ओलीले जेनेभामा आयोजना हुने आइएलओको शतवार्षिकीको विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले जेनेभामा रहँदा साइडलाइनमा केही द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।

स्वीट्जरल्याण्डको भ्रमणपश्चात् प्रधानमन्त्री ओलीले जेठ २७ देखि २९ गतेसम्म संयुक्त अधिराज्यको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

भ्रमणका दौरान प्रधानमन्त्री ओलीले संयुक्त अधिराज्यका प्रधानमन्त्री टेरिजा मेसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । साथै, प्रधानमन्त्री ओलीले अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिने विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यसैगरी, प्रधानमन्त्री ओलीले यही जेठ २९ देखि ३१ सम्म फ्रान्सको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिएका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले फ्रान्सेली समकक्षी एड्वार्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली युरोप भ्रमण सम्पन्न गर्नुभई आगामी असार १ गते स्वदेश फर्कनेछन ।