माओवादीलाई जनताको पार्टीको रुपमा स्थापित गर्छौं: प्रधानमन्त्री

जनसम्मत
भाद्र २३, २०८०, शनिबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रलाई पुन: जनताको पार्टीको रुपमा स्थापित गर्ने बताएका छन्।

सहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोर्खा आएका प्रधानमन्त्री ‘प्रचण्ड’ले भच्चेकमा योङ कम्युनिस्ट लीग (वाइसीएल) नेपाल अजिरकोट गाउँपालिकाको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

प्रधानमन्त्रीले भने, ‘अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ। अभियान देशभर उत्साहपूर्ण ढंगले अगाडि बढेको छ।

यो अभियानमा संलग्न पार्टीका नेता, कार्यकर्तालाई शुभकामना दिन चाहान्छु। ठूलो त्याग तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न यो अभियान सफल पार्न जरुरी छ।’

जनताको पार्टीको रूपमा स्थापित गर्दै जनताको पार्टीको काम गर्ने ‘एकमात्र पार्टी माओवादी हो’ भन्ने रूपमा स्थापित गर्न सफल हुने विश्वास व्यक्त गरे।

अहिले आफूले लिएको सरकारको नेतृत्वको अवसरलाई उनले चुनौतीपूर्ण अवसरको रुपमा लिएको बताए।

सरकारले सामाजिक सुरक्षा कोषको अभियान, पासपोर्ट र यातायातमा देखिएका लाइन हटाउने अभियान र भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ परिवर्तन सुरूवात गरिएको उनको भनाई छ।

भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह जागेको भएपनि भष्ट्राचारमा रमाउमाउनेहरू अत्तलिएको उनले उल्लेख गरे।

उनले सुशासन र समृद्धिलाई प्राथमिकता दिंएर सरकार अगाडि बढेको बताए।

प्रधानमन्त्री बुढिगण्डकी जलविद्युत आयोजनाको काम सुरुवात गरिएको, कर्णाली चिसापानी जस्तो आयोजना सुरूवात गरिएको बताए।

उनले आफू छिट्टै चीन भ्रमणमा जान लागेको खुलाए।

चीन भ्रमणका क्रममा नेपालको विकास र देशको उत्तरी क्षेत्रका नाका खोल्नेलगायतका एजेन्डा रहेको प्रष्ट पारे।