भ्रष्टाचार न्यूनीकरणमा सरकारलाई कांग्रेसको पूर्ण समर्थन छ: महामन्त्री थापा

थापाले पर्वतमा के बोले ?

जनसम्मत
भाद्र १९, २०८०, मंगलवार

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरणको अभियानमा काँग्रेसको पूर्णरूपमा समर्थन रहेको बताएका छन्।

नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १ ले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले सरकारले काँग्रेस वा अन्य जुनसुकै पार्टीका नेता तथा कार्यकर्ता भ्रष्टाचारमा मुछिए जोगाउनतर्फ नलाग्ने प्रष्ट पारे।

‘काँग्रेस भ्रष्टचारमा मुछिएका कसैलाई पनि संरक्षण गर्ने पक्षमा छैन। हामी भ्रष्टाचाररहित राष्ट्र चाहन्छौँ। अहिले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरण अभियानमा काँग्रेसको पूर्ण समर्थन छ।

‘जनप्रतिनिधिले राम्रोसँग काम गर्नुस्। पार्टी आफैँ मजबुत बन्दै जान्छ। तपाईंहरूले काम गर्नुभएन भने समस्या हुने हो’, महामन्त्री थापाले भने।

महामन्त्री थापाले अहिले ३ वटै सरकारमा काँग्रेसको प्रतिनिधित्व रहेको हुँदा जनगुनासो आउने काम गर्न नहुने उल्लेख गरे।

जनताले जनप्रतिनिधिबाट धेरै अपेक्षा गरेको हुँदा नागरिकको न्यूनतम आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा उनको जोड छ।

उनले जनप्रतिनिधिले जनताको मर्मअनुसार काम नगरे पार्टी र व्यक्ति दुवै सकिने बाटोमा जाने स्पष्ट पारे।

३ वटै तहको सरकारले काम गर्ने हो भने ५ वर्षको अवधिमा मुलुकमा ठूलो परिवर्तन आउने उनको भनाई छ।

आगामी निर्वाचनका लागि भर्खरै आत्तिनुपर्ने अवस्था नभएको महामन्त्री थापाको भनाई छ।

स्थानीयस्तरबाटै पार्टी संगठन मजबुत बनाउन लाग्ने र कार्यकर्तालाई प्रशिक्षित गर्नुपर्नेमा थापाको जोड छ।

 

थापाले पर्वतमा के बोले ?

 

यसैगरी, महामन्त्री थापाले पर्वत सदरमुकाम कुश्मा बजारमा मंगलबार दिउँसो कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै रूपान्तरण अभियानमा जुट्न आह्वान गरे।

महामन्त्री थापाले पार्टीको आउँदो महाधिवेशनले उम्मेदवार छनोटको प्रक्रिया बदल्ने र त्यसपछि गुटबन्दी अन्त्य भएर जाने विश्वाससमेत दिलाए।

स्थानीय तहदेखि संसदीय निर्वाचनमा उम्मेदवार बन्ने/बनाउने प्रणाली परिवर्तन गरेपछि मात्रै गुटबन्दी अन्त्य भएर जाने उनको भनाई छ।

उनले महाधिवेशनको वर्ष क्रियाशील सदस्यता बाँड्ने गरिएको भन्दै त्यसको अन्त्य हुनुपर्ने कुरामा जोड दिए।

‘यो पटक आउँदो २०८२ मंसीर–पुसतिर पार्टी अधिवेशन हुन्छ, कसैले सार्न सक्दैन। अब, २०८२ वैशाखपछि कसैले क्रियाशील सदस्यता बाँड्न पाउँदैन’, थापाले प्रष्ट पारे।

यही भदौ १५ गतेसम्म विभाग भ्रातृ संगठनलाई पूर्णता दिने भनिएपनि पूरा नभएको भन्दै भदौ मसान्तसम्म काम सक्न सभापतिलाई दबाब दिइएको उनको भनाई छ।

थापालेले पार्टी पुरानो पाराले चल्न नसक्ने भन्दै विधि र थितिअनुरूप चलाउन जिल्ला तहबाटै नेतृत्वलाई दबाब दिनुपर्नेसमेत बताए।

उनले आगामी निर्वाचनमा पार्टीलाई एक्लै भिड्न सक्ने बनाउन खोजिएकोसमेत उल्लेख गरे।

महामन्त्री थापाले आफूहरूले काँग्रेसलाई विधानसम्मत उभ्याउने प्रयास गरिरहेको प्रष्ट पारे।

‘लामो समयदेखि काँग्रेस विधानसम्मत हिँड्ने कुरामा अल्मलिएको थियो। हामीले विस्तारै सुधार ल्याइरहेका छौँ। यो प्रयासमा तपाईंहरूको पनि साथ चाहिन्छ’, उनले उल्लेख गरे।