महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोट: सेमिफाइनलमा थाईल्यान्डसँग नेपाल पराजित

नेपाल ४६ रनले पराजित

जनसम्मत
भाद्र २२, २०८०, शुक्रबार

नेपाल महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटको सेमिफाइनलमा थाईल्यान्डसँग पराजित भएको छ।

पराजित भएसँगै पहिलो पटक विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने नेपालको सपना अधुरै रहेको छ।

आज (शुक्रबार) भएको सेमिफाइनलमा नेपाल ४६ रनले पराजित भएको हो।

थाइल्यान्डले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलब ३ ओभरमा ५९ रनमा अलआउट भयो।

नेपालका लागि कविता कुवँरले अविजित १७ रन बनाइन्। कविता जोशी र अप्सरी बेगमले समान १०/१० रन जोडे।

अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

थाईल्यान्डका लागि ओन्निचा कामचोम्फु र थिप्चा पुत्थावोंगले समान ३/३ विकेट लिए।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको थाईल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो।

थाईल्यान्डका लागि नान्नापत खोन्चरोएनकाईले ६३ बलमा अविजित ५९ रनको अर्धशतकीय ईनिङ खेलिन्। नट्थाकन चान्थम्ले ४५ बलमा ३१ रन बनाइन्।

नेपालका लागि कविता कुवँर र पूजा महतोले समान १/१ विकेट लिए।

यस खेलमा विजेता भएसँगै थाईल्यान्डले टी–ट्वान्टी महिला विश्वकप २०२४ को ग्लोबल छनोटमा स्थान बनाउनेछ।

सन् २०१३ देखि सुरु भएको ग्लोबल छनोटमा नेपालले हालसम्म स्थान बनाउन सकेको छैन।

२०२० मा विश्वकप खेलेको र पछिल्लो समय शानदार प्रदर्शन गर्दै आएको थाईल्यान्डविरुद्ध नेपालले खराब प्रदर्शन गरेको थियो।