उत्पादनलाई पर्यटनसँग जोड्यौ भने मुलुक अगाडि बढ्छ: मन्त्री गुरुङ

पोखराको लेकसाइडमा ‘तीज सांस्कृतिक महोत्सव’

जनसम्मत
भाद्र २५, २०८०, सोमबार

नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उत्पादनलाई पर्यटनसँग जोडियो भने मुलुकको विकास हुने कुरामा जोड दिएका छन्।

सोमबार पर्यटन विकास महिला संघ (टेवान) ले आयोजना गरेको तीज सांस्कृतिक महोत्सवको पोखरामा उद्घाटन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन्।

तीज मनाउने तरिका बद्लिएको र परिस्कृत ढंगबाट तीज मनाउने प्रयास टेवानले गरेको उनको भनाई छ।

तीजलाई स्थानीय उत्पादनसँग जोड्ने प्रयास सर्‍हानीय भएको उनले उल्लेख गरे।

‘तीज पर्वलाई केवल रमाइलो पर्वका रुपमा भन्दापनि स्थानीय उत्पादनसँग पनि जोड्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको रहेछ।

खुशी लाग्यो। पर्यटन विकासको आधार नै अब स्थानीय उत्पादन हो’, उनले भने।

तीजमा विकृति आएपनि यसको सुधार हुनुपर्ने विषयलाई उनले औंल्याए।

महिला दिदीबहिनी पुरुषको बैशाखी नभई मुलुककै नेतृत्व गर्ने बाटोमा अग्रसर हुनुपर्ने कुरामा उनले जोड दिए।

पुरुष पानीमाथिको ओभानो भएर समाज परिवर्तन नहुने तर्क उनको छ।

बद्लिएको समाजमा नबद्लिएको विषय बदल्नुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे।

गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुङले हिमाल, पहाड र तराइलाई पोखरामा भएको तीज सांस्कृतिक महोत्सवले जोडेको बताइन्।

यस्ता कार्यक्रमले गाउँगाउँका उत्पादनलाई बजारसँग जोड्न मदत पुग्ने गुरुङको भनाई छ।

पर्यटन परिषदका महासचिव संजयकान्त सिग्देलले पोखराको पर्यटन विकासमा सबै पक्ष एक भएर लाग्नुपर्ने औंल्याए।

पोखरा महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष विष्णु भट्टराईले तीज पर्वमा मौलिकताको खाँचो भएको बताए।

टेवानकी अध्यक्ष कमला गिरीले पहिलो संस्करणको कार्यक्रम भएकाले कमीकमजोरी हुन सक्ने र आगामी दिनमा सुधार गर्दै लैजाने बताइन्।

नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी, कास्की अध्यक्ष विमला भण्डारीलगायतले बोलेका थिए।