फोटो पत्रकार उमेश पुनलाई यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार

जनसम्मत
भाद्र २८, २०८०, बिहीवार

फोटो पत्रकार उमेश पुनलाई यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९ बाट पुरस्कृत गरिने भएको छ।

सहारा क्लवले हरेक बर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार यस बर्ष पुनलाई प्रदान गर्ने भएको क्लवले जनाएको छ।

प्रतिभा छनौट समितिले गरेको सिफारिसको आधारमा भदौं २१ गते बसेको क्लवको बैठकबाट उक्त निर्णयलाई अनुमोदन गरेको क्लवका महासचिव रामजीप्रसाद अधिकारीले जनाएको छ।

२०३८ भदौं २९ गते बाबु फत्तबहादर पुन, आमा भीमकुमारी पुनको कोखबाट जन्मिएका पुन दीपेन्द्र पुलिस स्कुल, साँगा काठमाण्डौ, लर्ड बुद्ध एकेडेमी, चक्रपथ, काठमाण्डौबाट पढाई सकेलगतै विगत डेढ दशक भन्दा लामो समयदेखि फोटो पत्रकारितामा सकृय छन्। पुन: हाल नागरिक राष्ट्रिय दैनिक, रिपव्लिका दैनिक, गोल नेपाल डट कममा आबद्ध छन्। त्यस्तै, स्थानीय पोखरा युनाइटेड दैनिक, अनलाइन खबर डट कम, सिटि पोखरा डट कमलगायतमा काम गर्दै आएका छन्।

हाल, उनी नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका सदस्य, संसदीय पत्रकार मञ्च गण्डकीका सदस्य, नेपाल फोटो पत्रकार संघ कास्कीका सचिवलगायतका संस्थामा आबद्ध छन्।

सहारा क्लव स्थापनाको २५ औं बर्ष गाँठको अवसरमा क्लवले यही भदौं ३० गते एक समारोहबीच उक्त पुरस्कार पुनलाई अर्पण गर्ने भएको महासचिव अधिकारीले बताए।

उक्त पुरस्कारको राशी २५ हजार ५ सय ५५ छ।

कास्की जिल्लालाई कर्मथलो बनाई लामो समयदेखि खेलकुद पत्रकारितामा कृयाशील रहँदै आएका एक जना पत्रकारलाई संस्थाले विगतदेखि ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार’ द्वारा सम्मान गर्दै आएको हो।

गत बर्ष नारायण शाही सम्मानीत भएका थिए। त्यस्तै, दिपक परियार, इन्द्रप्रसाद पौडेल, सन्देश श्रेष्ठ, विजय नेपाल, सुरज श्रेष्ठ, एमबी आस्था, कृष्णमणि बराल, सागरराज तिमिल्सिना, एकराज गिरी, प्रदीप पौडेल, दीननाथ बराल, प्रेमनारायण न्यौपाने, राम गुरुङ, विनोद लामिछाने, धन बस्नेत, कुलचन्द्र न्यौपानेलगायतका पत्रकारहरु सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसकेका छन्।