स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै सकियो तीज सांस्कृतिक महोत्सव

जनसम्मत
भाद्र २७, २०८०, बुधबार

पर्यटन व्यवसायी महिला संघ (टेवान) ले आयोजना गरेको तीज सांस्कृतिक महोत्सव स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै सकिएको छ।

शनिवारदेखि सोमबारसम्म लेकसाइडको कोमागानेपार्कमा आयोजना गरिएको महिला उद्यमी मेलामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका स्थानीय उत्पादनको प्रवद्र्धन गरिएको थियो।

पोखरा महानगरपालिकाको प्रवद्र्धन, पोखरा पर्यटन परिषदलगायतका संघसंस्थाको सहयोगमा सम्पन्न भएको महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुति रह्यो।

पर्यटन महिला व्यवसायीहरुले पहिलो पटक आयोजना गरेको सांस्कृतिक महोत्सव अन्तर्गत हाजिरीजवाफ प्रतियोगिता, तीज गीत प्रतियोगिता, महिला दौड प्रतियोगितालगायतका कार्यक्रमले महोत्सवै रौनकता बढायो।

महोत्सवको समापन दिन गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले पर्यटन क्षेत्रलाई चलायमान बनाउन यस्ता कार्यक्रम गरिरहनुपर्ने सुझाव दिए।

तीजका समय टेवानले सांस्कृतिक महोत्सवको आयोजना गर्दा प्रदेशबाट उत्पादित वस्तुको बजारीकरण र प्रवद्र्धनमा टेवा पुगेको उनले औंल्याए।

खस्किएको पर्यटन क्षेत्रलाई माथि उठाउने गरी सरकार नै लागिरहेको उनले उल्लेख गरे।

‘हामीलाई थाहा छ। पर्यटन क्षेत्र पहिले जस्तो छैन। व्यवसाय खस्किदो छ। पर्यटकको आगमन र उनीहरुको खर्चलाई व्यवस्थापन गर्न सकिएको अवस्था छैन। हामी यस क्षेत्रको श्रीवृद्धिका लागिरहेका छौं। सहज नीति निर्माण गरि शिघ्र पर्यटन क्षेत्र चलायमान बनाउने उद्देश्य प्रदेश सरकारको छ’, उनले थपे।

गण्डकी प्रदेशका सांसद प्रकाश बरालले टेवानले तीज सांस्कृतिक महोत्सवको आयोजना गरेर उदाहरणीय काम गरेको बताए।

उनले अफसिजनमा पोखराको पर्यटन प्रवद्र्धनमा यसले ठूलो मदत पुग्ने बताए।

व्यवसायिकमैत्री वातावरण बनाउन सरकारलाई आफूले आग्रह गरिरहेको उनले उल्लेख गरेका छन्।

सांसद सरस्वती गुरुङले तीजका बेला महिला दिदीबहिनीहरुले गरेको कार्यक्रम सफल रुपमा सम्पन्न भएको बताइन्।

‘सुरुवातमा नै सफलता मिलेको छ, यसको निरन्तरताको कामना गर्दछु’, उनले थपिन्।

पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन व्यवसायीको मर्कालाई सरकारले बुझ्नुपर्ने बताए।

पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले टेवानले सकरात्मक कदम चालेको बताए।

टेवानकी अध्यक्ष कमला गिरीले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबै संघसंस्था तथा व्यक्तिलाई धन्यवाद दिइन्।

यो सुरुवात भएको र आगामी दिनमा यस्तो कार्यक्रमले निरन्तरता पाउने उनले प्रतिबद्धता जनाइन्।