लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल सुरु

पहिलो दिन ४ खेल सम्पन्न

जनसम्मत
भाद्र ३०, २०८०, शनिबार

लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।

नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा भएको भलिबल प्रतियोगिताको पहिलो दिन ४ खेल सम्पन्न भएको छ।

संस्थाको २७ औं बार्षिकोत्सव एवं २५ औ संस्करणको लामाचौर तीज महोत्सवको सन्दर्भमा भएको पुरुषतर्फको खेलमा गण्डकीले गल्कोट स्पोर्टस क्लवलाई ३–१ को सेटमा जित निकाल्यो।

इन्द्र राज्यलक्ष्मी माविको खेल मैदानमा सुरु खेलमा गण्डकीले पहिलो सेट २५–२१ र दोश्रो सेट २६–२४ आफ्नो पक्षमा पारेपनि तेस्रो सेट २४–२६ ले गुमाउन पुग्यो।

चौथो सेटमा २५–१९ को जित निकाल्यो।

यस्तै, दोस्रो खेलमा नेपाल पुलिसले मणिमुकुन्द भलिबल क्लबलाई ३–१ को सेटमा जित निकाल्यो।

पहिलो सेट १६–२५ ले गुमाएको पुलिसले दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्‍यो।

तेस्रो सेट २५–१९ र चौथो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै जित हासिल गरेको हो।

पुलिसले तीन अंक जोडेको छ।

प्रतियोगिताको तेस्रो खेलमा एपीएफले गल्कोटलाई सोझो सेटमा पाखा लगायो।

एपीएफले २५–२३, २५–२३ र २५–१८ को सेटमा सहजै जित निकाल्यो।

एपीएफको ३ अंक रहँदा गल्कोट अंकविहीन हुँदै तालिकाको पुछारमा छ। अत्यन्तै, प्रतिस्पर्धात्मक बनेको गण्डकी र मणिमुकुन्दबीचको चौथो खेल ३–२ ले मणिमुकुन्दको पक्षमा रह्यो।

पहिलो सेट गण्डकीले २५–२० ले आफ्नो पक्षमा पार्‍यो। दोस्रो सेट २१–२५ ले गुमाएको गण्डकीले तेस्रो सेट पनि १७–२५ ले गुमायो।

चौथो सेट २५–१७ ले गण्डकीको पक्षमा रह्यो।

पाँचौ सेटमा मणिमुकुन्दले १५–१२ ले आफ्नो पक्षमा पार्दै पहिलो जित निकाल्यो।

योसँगै गण्डकीको ४ अंक रहेको छ भने मणिमुकुन्दले २ अंक जोडेको छ।

पहिलो दिन ५ खेल हुने भनिएपनि प्रकाश नपुग्ने भएपछि एपीएफ र पुलिसबीचको खेल हुन सकेन।

नेपाल पुलिस र एपीएफबीचको खेल शनिबार विहान हुने अफिसियलले जनाएको छ।

शनिबार ७ खेल हुनेछन्।

प्रतियोगिता राउन्ड रोविन लिगको आधारमा खेलाइएको छ।

प्रतियोगितामा महिलातर्फ ४ नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपीएफ क्लव, न्यू डायमण्ड क्लव तथा एभरेष्ट भलिबल क्लव बुटवलको सहभागिता छ।

त्यसैगरी, पुरुषतर्फ गण्डकी प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपीएफ क्लव, मणिमुकुन्द क्लव बुटवल गरी ५ टिमको सहभागिता छ।

लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ उपाधि विजेताले नगद रु १ लाख ५० हजार १ सय ११, उपविजेताले १ लाख १ सय ११ र तृतिय हुने टिमले ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्।